दुई नम्बर प्रदेश : प्रमुख दलको निसानामा (कुन दलको कुन कार्यक्रम ?)

629

हुलाकी न्यूज, काठमाडौं । स्थानीय निकायको निर्वाचन हुन बाँकी रहेको दुई नम्बर प्रदेशमा बढी सिट हात पार्न प्रमुख दलहरु सक्रिय भएका छन् । प्रमुख दलहरु दुई नम्बर प्रदेश केन्द्रीत छलफल गरिरहँदा संविधान संशोधन मुख्य एजेण्डा बनेको छ ।

सत्तारुढ नेपाली कांग्रेसले साउन ५ गते दुई नम्बरको प्रदेश भेला बोलाएको छ भने ९ गते जनकपुरधाम मै केन्द्रीय नेतृत्वको उपस्थितिमा कार्यक्रम गर्दैछ । काठमाडौंमा हुने प्रदेश भेलामा दुई नम्बर प्रदेशका केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापति र क्षेत्रीय सभापतिहरुलाई बोलाइएको छ ।

नेकपा एमालेले भने विहीबार मधेशमा कसरी एमालेको छवि राम्रो बनाउने र तेस्रो चरणको निर्वाचनमा कसरी सहभागी हुने विषयमा अन्तरक्रिया गरेको छ । मधेशका बुद्धिजिवीहरुसँग केपी ओलीको अन्तरक्रिया कार्यक्रममा संविधान संशोधनका विषयमा मधेशीहरुले कुरा ठाएका थिए । काठमाडौंको कार्यक्रम पछि एमाले दुई नम्बर प्रदेश मै विभिन्न कार्यक्रम लिएर जान लागेको हो ।

त्यस्तै, सत्तारुढ अर्को घटक माओवादी केन्द्रले पनि साउनको पहिलो साता दुई नम्बर प्रदेश केन्द्रति प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । दुई नम्बर प्रदेश मै प्रशिक्षण कार्यक्रमको तयारी भइरहेको माओवादी नेता एवं सहरी विकास मन्त्री प्रभु साहले बताए ।

कांग्रेसका सांसद रामकृष्ण यादवले हुलाकी न्यूजसँग भने,‘दुई नम्बर प्रदेशको मुख्य एजेण्डा संविधान संशोधन हो । यसअघि पनि जिल्ला सभापतिहरुले संविधान संशोधन गरेर निर्वाचनमा जान आग्रह गर्नु भएको थियो । अवको भेलामा पनि सोही कुरा उठ्नेछ ।’

यता माओवादी केन्द्रका नेता साहले संविधान संशोधन आवश्यक रहेको बताउँदै पार्टीभित्र पनि संविधान संशोधनको पक्षमा रहेको बताए । उनले पार्टी नेतृत्वले नै संविधान संशोधन गर्नु पर्ने आवश्यकतालाई स्वीकार गरिसकेकोले माओवादी संशोधनको पक्षमा रहेको र निर्वाचनअघि नै संविधान संशोधन गराउन तयार रहेको बताए ।

संविधान संशोधनको माग गर्दै आएको राष्ट्रिय जनता पार्टी तेस्रो चरणको स्थानीय निकायको निर्वाचनअघि संविधान संशोधन हुनु पर्ने माग गर्दै आएको छ । संविधान संशोधन नगरी निर्वाचनमा गएको खण्डमा आन्दोलनको चेतावनीसमेत राजपाले दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here