दुई ‘कट्टरपन्थी’को दुई रेकर्ड


बीपी साह, काठमाडौं ।
मधेश आन्दोलनका मागहरुको विरुद्ध ‘कट्टरता’ देखाउँदै उभिएका नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपालबाट मधेशलाई स्वतन्त्र देश बनाउने अभियान चलाएका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतले यस पटकको निर्वाचनमा फरक–फरक दुई रेकर्ड बनाएका छन् ।

ओलीले यस पटकको निर्वाचनमा सबभन्दा बढी मत ल्याएर विजयी भएका छन् । झापाको क्षेत्र नम्बर पाँचबाट ओलीले ५७ हजार १ सय ३९ मत ल्याइ यस पटकको निर्वाचनमा सबभन्दा बढी मत ल्याउने नेताको रेकर्ड बनाएका छन् ।

मधेश आन्दोलनको माग अनुरुप संविधान संशोधन र समानुपातिक समावेशीको विरुद्ध ओली देखिदै आएका छन् । मधेशमा ओली विरुद्धको आक्रोसले गर्दा ओली प्रचारप्रसारमा दुई नम्बर प्रदेश पुग्न सकेनन् ।

यता डा.राउतको जन्मथलो सप्तरीको निर्वाचन क्षेत्र नम्बर दुई अन्तरगत महदेवा गाउँपालिका दुईका मतदाताहरुले मतदान बहिस्कार गरे । डा.सीके राउतको स्वतन्त्र मधेश अभियानलाई समर्थन गर्दै स्थानीयबासीहरुले ‘मतदान बहिस्कार ब्रत’ लिएका थिए ।

चुनाव बहिस्कारसहित चुनाव विरोधी गतिविधिमा लागेको भन्दै सोही दिन नेपाल प्रहरी धनुषाले डा.राउतलाई जनकपुरधामबाट पक्राउ गरेको छ । राउत पक्राउ परे पनि साँझसम्म कोही मतदाता मतदान गर्न पुगेनन् ।

रोचक कुरा के छ भने उक्त क्षेत्रबाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधि सभाका उम्मेदवार थिए । यादवले बारम्बार आग्रह गर्दासमेत उक्त गाउँका मतदाताहरु मतदान गर्न गएनन् ।

पहिलो संविधान सभाको निर्वाचन २०६४ मा तत्कालिन जनतान्त्रिक तराई मुक्त मोर्चाका अध्यक्ष जयकृष्ण गोइतको गाउँको मतदान केन्द्रमा मतदाताहरुले मतदान बहिस्कार गरेका थिए । तत्कालिन सप्तरीको निर्वाचन क्षेत्र एक अन्तरगत त्रिकौल मतदान केन्द्रमा कुनै पनि मतदाता मतदान गर्न गएका थिएनन् । गोइत सशस्त्र संघर्षमा भूमिगत अवस्थामा थिए ।

डा.राउतप्रति निकै आक्रमक रहेका एमाले अध्यक्ष ओली भावी प्रधानमन्त्रीका रुपमा देखिएका छन् । मतगणनाको परिणाम आइ राख्दा एमाले देशको सबभन्दा ठूलो पार्टी बन्ने निश्चित भइसकेको छ ।

यसअवस्थामा डा.राउतलाई थुनामुक्त हुन कठिन हुने सम्भावना रहेको छ भने उनको स्वतन्त्र मधेशको अभियानप्रति सरकार निकै आक्रमक हुने स्वभाविक देखिन्छ । चुनावी अभियानमा डा.राउतसहित करिब एक दर्जन कार्यकर्ताहरु पक्राउ परिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.