दलित बालबालिकाले बाबुआमा गुमाए पछि बिचल्ली


हुलाकी न्युज, बारा
| बाराको कलैया–१३ बलिरामपुरकी ३८ वर्षीया मन्तुरी राम र ४२ वर्षीय दरोगा राम चमारको मृत्युभए पछि सन्तान बिचल्लीमा छन् । यहाँका तीन दलित बालबालिकाले साता दिनभित्रै बाबुआमा गुमाउनुपरेको छ ।

गत असार ५ गते उनकी पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ परेका थिए । दुवैबीच खटपट थियो । मलेसियामा रोजगारीमा रहेका दरोगाराम त्यहाँबाट फर्केपछि ससुरालीमै बस्न थालेका थिए ।

मन्तुरी पछिल्लो समय बसतपुरस्थित माइतीमा बस्दै आएकी थिइन् । उनीहरूका तीन सन्तान छन् । ‘बाबुआमा सँगै खाना खाएर कोठामा सुत्नुभएको थियो,’ १५ वर्षीया छोरी सुगीले भनिन्, ‘बिहान उठदा आमा मृत देखें । बुबा हुनुहुन्थेन । उहाँहरूबीच झगडा भइरहन्थ्यो ।’

यसअघि प्रहरी र समाजले उनीहरूबीच पटकपटक मिलापत्र गराउँदै आएको थियो ।
घटनाको आठौं दिन प्रहरीले दरोगालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको पाँच घण्टामै उनको मृत्यु भयो । प्रहरी निरीक्षक वीरेन्द्रवीर विकले मन्तुरीको हत्या अनुसन्धान क्रममा दरोगालाई पक्राउ गरेको बताए ।

‘तर, उनले पक्राउ पर्नुअघि विष सेवन गरेको हामीलाई थाहा थिएन,’ उनले भने, ‘कार्यालयमा ल्याएको केही घण्टामै मुखबाट फिँज निकाल्न थालेपछि अस्पताल लग्दा विष सेवन गरेको थाहा पाइयो ।’

कलैया अस्पतालबाट थप उपचारका लागि वीरगन्ज लैजाने क्रममा राति नै मृत्यु भएको अनुसन्धान अधिकृत विकले बताए । विषादी सेवनबारे अनुसन्धान भइरहेको प्रहरीले जनायो । ‘पक्राउपछि कार्यालय ल्याउँदै गर्दा दरोगाले पत्नीलाई आफैंले मारेको स्विकारिसकेका थिए,’ एक प्रहरीले अधिकृतले भने । प्रहरीले शव कलैया अस्पतालमा परीक्षण गराई परिवारको जिम्मा लगाएको थियो । दरोगा पक्राउ परेको स्थानमा ‘नाग’ लेखिएको एक सय एमएलको विषादीको डब्बा फेला परेको प्रहरीले जनायो ।

पोस्टमार्टम रिपोर्टमा दरोगाको मृत्यु विषादीकै कारण भएको उल्लेख रहे पनि परिवारले चित्त बुझाएको छैन । किरिया बसेका दरोगाका बाबु रुदल भन्छन्, ‘प्रहरीले छोरालाई जिउँदै पक्राउ गरी लगेको थियो ।
मध्यरातमा मृत्युको खबर सुनाएपछि भुइँमा लडें । पछि प्रहरीले तयार गरेको मुचुल्कामा सही गरें ।’ बुहारीको मृत्युको पीडा कम नहुँदै छोराको ज्यान गएकाले परिवार शोकमग्न छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.