थारु र माघीका आयामहरु


कमल चौधरी

थारु जातिको महान् पर्व माघी

थारु जातिको आफ्नो पहिचान बोकेको महान् पर्व माघीलाई स्थान विशेष अनुसार माघ, माघी, माघे संक्रान्ति, माघी देवानी, खिचरा भन्ने प्रचलन रहेको पाईन्छ । माघी पर्व थारुहरूको सबैभन्दा ठूलो पर्व रहेकोले यसलाई परापूर्वकाल देखि नै धुमधामका साथ मनाउँदै आइरहेका छन् । आ–आफ्नो ठाउँ अनुसार यसलाई, नयाँ वर्षको रूपमा, उन्मुक्ति दिवसको रूपमा, सद्भाव र मेलमिलापको रूपमा, स्वतन्त्रताको रुपमा तथा आफ्ना दिदी बहिनीहरूलाई कोशेली स्वरूप निस्राउ प्रदान गर्ने आदि विविध रूपमा मनाउने चलन रहेको छ । यस पर्वमा मघौटा गीत गाउँदै झुमरा, झर्रा लगायत विभिन्न नाचहरू नाच्ने गरिन्छ । थारु समुदायले माघलाई नयाँ वर्षको रूपमा लिने गरिन्छ ।

अस्तित्व र पहिचानको पर्व माघी

सोझा, इमान्दार, सांस्कृतिक रुपमा विशिष्ट पहिचान भएका थारु समुदायको माघी पर्वको छुट्टै अस्तित्व र पहिचान रहेको छ । मानव सभ्यताको सुरुवाती संगै विभिन्न किसिमले थारु समुदायको समाजिक तथा संस्कृतिक पर्वहरुको अस्तित्वमा आएको पाईन्छ । हुन त वि.स. २०५९ सालमा सरकारले माघीको अवसरमा थारु कर्मचारीलाई बिदा दिने निर्णय सँगै थारु समुदायको माघी पर्वको व्यापक रुपमा प्रचार–प्रसार भएको देखिन्छ । त्यही बर्ष देखि नै काठमाडौंमा महोत्सवको सुरुवाट र पछि केन्द्र, जिल्ला, क्षेत्र गाउँ–गाउँमा माघी महोत्वस मनाउँन लागेको थारु अगुवाहरु बताउँछन् । वर्तमान समयमा केन्द्र, प्रदेश, जिल्ला, नगर, वडा स्तरका माघी महोत्सवहरु हुन थालेको पाईन्छ ।

मेलमिलापको पर्व माघी

मेलमिलाप एवम् भातृत्वको पर्व हो माघी । माघीमा आफूभन्दा ठूलालाई ढोगभेट गरेर माघीका लागि बनाइएका परिकार खाने प्रचलन रहिआएको छ । थारु जातिले माघी पर्वलाई मेलमिलाप पर्वको रुपमा लिने गर्दछन् । झैँ–झगडा वा विवाद भएर बोलचाल बन्द भएकाहरु समेत माघी पर्वमा एकआपसमा साइनो अनुसार ढोगभेट गरेर एकैसाथ बसेर एक अर्काे घरमा पाकेका परिकार खाएर रमाईलो गर्ने प्रचलन रहेको छ । त्यसैले माघी समाजिक सद्भाव र खुसीयालीको पर्वको रुपमा लिने गरिन्छ ।

नयाँ बर्षको रुपमा माघी

थारुहरूले माघ १ गतेदेखि नयाँ वर्ष थालनी भएको मान्दछन् । त्यसैले पुस मसान्तमा गत सालको सबै कारोबारको अन्त्य र माघ १ गतेदेखि नयाँ करोबारको थालनी गर्ने चलन रहेको छ । त्यसैगरी सामूहिक कामकाजको सम्बन्धमा छलफल गरी छिनोफानो लगाइन्छ । गाउँभरीका व्यक्तिहरू भेला भइ गाउँको नेतृत्वकर्ता वरघर (भलभन्सा÷महँताँवा) चयन गरिन्छ । त्यसपश्चात् चौकीदार, गुरुवा, केसौका, छनौट पनि गर्ने गरिन्छ ।

माघी पर्वको सुरुवात

माघी पुस महिनाको अन्तिम दिनदेखि सुरु हुन्छ । गाउँ घरमा माघ महिना सुरु भएदेखि नै थारु गाउँबस्तीमा चहलपहल हुनुको साथै “सखी हो माघी मे गुरी गुरी जाँड…. ” जस्त गीतहरु गुञ्जिन सुरु हुँन्छन् । विशेषगरी माघ १ गतेको दिन जब बिहान भाले बासे संगै साना ठूला सबै नदीमा नुहाउन जाने गरिन्छ । कसैको कोखबाट सन्तानको जन्म नहुने वा जन्मेपछि मरीहाल्ने गरेको छ भने त्यस्ता जोडीहरू कुनै तीर्थस्थल वा दोभानमा गएर नुहाउने र सन्तानको बरदान माग्ने धर्मिक अस्था पनि रहिआएको छ । नदीमा नुहाउन गाउँभरीका केटाकेटी, युवा तथा बृद्ध सबै संगै जाने र नुहाई सकेपछि तिलको आगो ताप्ने गरिन्छ । नुहाइ घरमा फर्केपछि सबैजना चामलको टिका लगाउने गरिन्छ र “निश्राउ” निकालिन्छ । चामल छुदा सुपामा चामल, नुन, उरुदको दाल राखिएको हुन्छ यिनै चामल, नुनलाई अर्को छुटै भाँडाहरूमा पाँच–पाँच अञ्जुली झिकेर राखिन्छ यसै प्रक्रियालाई “निश्राउ” भनिन्छ । यो निश्राउ जति झिकेर राखेको छ त्यसैमा केही थापेर दिदीबहिनीलाई “निश्राउ” दिन जाने गरिन्छ ।

कपिलबस्तुको बाणगंगामा माघी

कपिलस्तु जिल्लाको बाणगंगा नगरपालिकाको वि.स. २०६८ को तथ्यांक हेर्ने हो भने कुल ७५ हजार २ सय ४२ जनसंख्या रहेको छ । यस नगरपालिकमा २८ हजार १२ जनसंख्या थारु समुदायको मात्रै रहेको छ । यो कुल जनसंख्याको ३७.२२ प्रतिशत हो । यहाँ १३ हजार ५ सय ७० थारु पुरुष र १४ हजार ४ सय २१ थारु महिला बसोबास गर्ने गर्दछन् । ११ वटा वडामा विभाजन भएको यस नगरपालिकामा थारु जातिको उच्च बाहुल्यता रहेको छ । यस बर्ष माघी अवसरमा कपिलबस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ९ मा थारु समुदाय र मगर समुदायको संयुक्ता अयोजनामा पुस २८ गते जिनुवामा सम्पन्न भयो । त्यस्तै पुुस ३० गते बाणगंगा–८ उदयपुर मोर्मी स्कुलमा वडा स्तरीय दोस्रो माघी महोत्सव हुदै छ । त्यसैगरी वाणगंगा नगरपालिका वडा–७ मोतिपुरमा माघ १ गते माघी महोत्सव हुने भएको छ । त्यसैगरी पुस २८, २९ र ३० गते महाविरात्री मेला स्थल हथौंसमा बाणगंगा नगरस्तरिय प्रथम माघी महोत्सव सुरु भएको छ ।

यसरी वाणगंगा नगरपालिकामा थारु समुदायको भाषा, धर्म संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न किसिमका माघी महोत्सवको तयारीले अहिले गाउँघर गुञ्जमान भएको छ । बाणगंगा नगरपालिका नगर प्रमुख मंगल प्रसाद थारुले नेपाल बहुल जाति, बहुल भाषिक विविधता भएकोले हामीले सबै जाति समुदायको भाषा संस्कृतिको सम्मन र संरक्षण गर्नुपर्ने बताउँनुभयो । त्यस्तै बाणगंगा वडा नं. ८ वडा अध्यक्ष गुणनीधि भुषालले प्रत्येक बर्ष थारु समुदायको भाषा धर्म संस्कृतिको संरक्षण गर्न माघीमा एक लाख वडाले बजेट छुट्याउँदै आईरहेको जनकारी दिनुभयो । थारु कल्यणकारिणी सभाका जिल्ला सदस्य संक्रान्ती चौधरीले थारु भाषा संस्कृति संरक्षण गर्ने उद्देश्यले नै वडा, नगर र जिल्ला स्तरमा माघी महोत्सव कपिलबस्तु जिल्लामा गर्ने गरेको बताउँनुभयो । उहाँले यस बर्ष जिल्ला स्तरिय माघी महोत्सव शिवराज नगरपालिका ५ चन्द्रौटा प्रदर्शनी स्थल कपिलबस्तुमा माघ २, ३ र ४ गते हुने जनकारी दिनुभयो ।

वर्तमान समयमा माघी पर्व मनाउने शैलीमा परिवर्तन आएको छ । पहिले थारु बहुल्य भएको गाउँ ठाउँमा सिमित हुने माघी वडा, नगर, जिल्ला र राष्ट्रिय स्तरमा आजभोली मनाउन थालिएको छ । अधुनिक समाजको विकास र प्रचर–प्रसार संगै आज ठाउँ– ठाउँमा महोत्सव गरी मनाउने संस्कृतिको विकास हुँदै गएको छ । यसलाई अझ भव्य र व्यापक रूपमा मनाउनका लागि अगुवा, बुद्धिजिवी, थारु युवायुवाती लागि परेका छन् । यस माघी पर्वलाई केवल थारु जातिमा मात्र सीमित नराखी अब अन्य जातिसँग सहकार्य गरी व्यापक रूपमा मनाउन जरुरी छ । यस्ता चार्डपर्वहरू थारुमा मात्र सीमित राख्नु निश्चय पनि सान्दर्भिक र न्यायपूर्ण हुन सक्दैन । हुन त प्रदेश नं. ५ सरकारले पहिलो पटक यस बर्ष माघी पर्वकोे अवसरमा माघ १ र माघ २ गतेलाई दुई दिन सर्वजानिक विदा दिएको छ । पक्कै पनि थारु समुदायको महान पर्व माघी पर्वलाई संरक्षण र प्रर्वद्धनका लागि प्रदेश सरकारबाट दिएको सर्वजानिक विदा स्वागत्योग्य छ । तर यति मात्रले थारु संस्कृतिको संरक्षण र प्रवद्र्धन हुन सक्दैन थारु भाषा संस्कृतिको संरक्षण र प्रवद्धन गर्नको लागि सरकारी तहबाट स्पस्ट नीति हुनु जरुरी देखिन्छ । ताकी लोप हुने संघरमा पुगेको भाषा, धर्म संस्कृतिको संरक्षण र प्रवद्र्धन हुन ठुलो मद्दत पुग्ने छ । -थारुवानबाट

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.