डा.सीके राउत विरुद्ध तीन षड्यन्त्र!


मनिष झा (समाचार टिप्पणी) जनकपुरधामः
मुलधारको राजनीतिमा आएपछि डा.सीके राउत विरुद्ध मधेशवादी दलका नेताहरुले षड्यन्त्रण गर्न थालेका छन्।

स्वतन्त्र मधेश गठबन्धनमार्फत स्वतन्त्र मधेशको माग उठाउँदा पनि मधेशवादी दलका नेताहरुले डा.राउतको आलोचना गर्दै आएका थिए। डा.राउत अहिले जनमत पार्टी गठन गरेर खुल्ला राजनीतिमा आउँदा उनी विरुद्ध षड्यन्त्र गर्ने कार्य सुरु भएको छ।

स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारबीच भएको ११ बुँदे सहमतिको आलोचना गरेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र सरकारमा रहेका संघीय समाजवादी फोरम नेपालले डा.राउतलाई मुलधारको राजनीतिबाट विस्थापित गर्न षड्यन्त्र गरेका छन्।

राजपा र फोरमले आ–आफ्नो कार्यकर्ताहरुलाई दिन थालेको प्रशिक्षणमा डा.राउत विरुद्ध उत्रिन आह्वान गर्दैछन्। राजपा र फोरमले आफ्नो प्रमुख सत्रुको रुपमा डा.राउतलाई लिएका छन्।

राजपा र फोरमका नेताहरुको पछिल्लो गतिविधिलाई आधार मान्ने हो भने डा.राउत विरुद्ध अहिले मुख्य तीनवटा षड्यन्त्र हुँदैछ।

षड्यन्त्र १
जयकृष्ण गोइतको चर्चा

बन्दुकको बलमा स्वतन्त्र मधेश स्थापना गर्ने अभियान चलाएका जयकृष्ण गोइतलाई राजपाका नेताहरुले चर्चामा ल्याउन थालेका छन्। २०६१ सालमा माओवादीबाट अलग भएर सशस्त्र संघर्षमार्फत गोइतले स्वतन्त्र मधेशको अभियान थालेका थिए।

तर, उनको अभियानमा सयौं मधेशी युवाहरु मारिएका छन्। पछिल्लो समय नेता गोइत सिथिल अवस्थामा बसेका छन्। उनलाई चर्चामा ल्याउने प्रयास राजपाका नेताहरुले गरेका छन्।

मधेशमा पुनः हिंसा मचाउन राजपाले सशस्त्र आन्दोलनकारीलाई उचालेको विश्लेषकहरु भन्छन्।

गोइतलाई चर्चामा ल्याउँदा जनमत पार्टीका युवाहरु गोइततर्फ आकर्षित हुने अनुमान राजपाका नेताहरुको रहेको छ।
राजपाले गोइतलाई चर्चामा ल्याउँदा मधेशमा पुनः हिंसा भड्काउन सकिने छ भने डा.सीके राउतलाई छाँयामा पार्न सकिने उनीहरुको अनुमान रहेको छ।

षड्यन्त्र २
डा.सीके राउतको व्यक्तित्वमाथि प्रहार

जनमत पार्टीका अध्यक्ष डा.सीके राउतको व्यक्तित्वमाथि राजपा र फोरमका नेताहरुले प्रहार गर्न थालेका छन्। अहिलेसम्म स्वच्छ रहेको डा.राउतको छबीलाई बदनाम गराएर त्यसको फाईदा लिने पक्षमा राजपा र फोरमका नेताहरु छन्।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको अगाडि राउतले आत्मसर्पन गरे’ अथवा विदेशीबाट सञ्चालित हो भन्ने चर्चा राजपा र फोरमका नेताहरुले गर्न थालेका छन्।

डा.राउतको व्यक्तित्वलाई बदनाम गरी आफूहरु जस्तै बनाउने प्रयासमा मधेशवादी नेताहरु देखिएका छन्।

षड्यन्त्र ३
संगठनमा विवाद गराउने र मुठभेट गराउने

मधेशवादी दलका नेताहरुले जनमत पार्टीभित्र विवाद गराउने प्रयास थालेका छन्। जनमत पार्टीका असन्तुष्ट नेताहरुलाई प्रलोभनमा पार्ने प्रयास पछिल्लो समय भएको छ।

राजपा र फोरमका नेताहरुले डा.राउतका कार्यकर्तालाई विभिन्न प्रलोभन दिदै आफ्नो पक्षमा पार्न खोजेको देखिन्छ।

त्यसैगरी, जनमत पार्टीको कार्यक्रममा मुठभेट निम्त्याउने प्रयास पनि राजपा र फोरमका नेताहरुको षड्यन्त्र रहेको छ।
तर, राजपाका काठमाडौंमा रहेका फोरम र राजपाका नेताहरु डा.राउतको विरुद्धमा देखिए पनि मधेशमा रहेका नेताहरु डा.राउतप्रति सकारात्मक छन्।

राजपा र फोरमका जिल्ला स्तरका नेताहरु जनमत पार्टीसँगै मिलेर काम गर्न तयार देखिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.