डा.सीके राउतसँग सरकारले किन गरेन वार्ता?

हुलाकी न्यूज, काठमाडौं : सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक वार्ता टोलीले स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतसँग वार्ता नै नगरी कारवाहीका लागि सरकारलाई सिफारिस गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा गठन भएको राजनीतिक वार्ता टोलीले डा.राउतसहित गठबन्धनको गतिविधि नियन्त्रण गर्न सरकारलाई सिफारिस गरेको हो।

वार्ता टोलीले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको प्रतिवेदनमा स्वतन्त्र मधेश गठबन्धन अनरिप्रेजेन्टेड नेशनस एण्ड पिपुल्स ओर्गनाइजेशन (यूएनपीओ)मा समेत दर्ता भएकोले वार्ता गर्न नहुने उल्लेख गरिएको छ। यूएनपीओमा दर्ता भएको संगठनसँग वार्ता गर्दा सरकारले महत्व दिएको देखिने भएकोले वार्ता नगरिएको वार्ता टोलीका एक सदस्यले हुलाकी न्यूजलाई जानकारी दिए।

तर वार्ता टोलीका सदस्यहरुले अनौपचारिक रुपमा स्वतन्त्र मधेश गठबन्धनका केही नेताहरुसँग छलफल गरेका थिए। स्वतन्त्र मधेशको मागबाट पछि हटे वार्ता गर्ने सर्त वार्ता टोलीका सदस्यहरुले राखेका थिए।

यसैगरी प्रतिवेदनमा भनिएको छ,‘नेपालको राष्ट्रिय एकता, सार्वभौमसत्ता, अखण्डतालगायत संविधान तथा राज्यविरुद्धका गतिविधि गर्ने सी।के। राउत समूहसंगको वार्ता यस टोलीको कार्यादेशभित्र नपर्ने हुँदा त्यस समूहसँग वार्ता गर्न उपयुक्त देखिएन, टोलीले जारी गरेको वक्तव्यमा भनिएको छ, उक्त समूहका गतिविधिप्रति सरकार अझ चनाखो र सक्रिय भएर राष्ट्रिय अखण्डता, राष्ट्रिय एकता, सार्वभौमिकताको रक्षा तथा अमनचैन कायम गर्ने दिशामा थप क्रियाशील हुनु पर्ने देखिन्छ।’

हुलाकी न्यूजसँग वार्ता टोलीका संयोजक पाण्डेले भने,‘सीके राउतले मधेशको छुट्टै झण्डा पनि बनाएको छ। राष्ट्रिय गाण पनि बनाएको छ। अस्ती जनकपुरमा ‘मधेश इज नट नेपाल’ पनि लेखे। त्यसैले सीके समूह राजनीतिक समूह होइन भनी हाम्रो निष्कर्ष छ।’

‘२०६१ सालबाट सशस्त्र संघर्ष गर्दै स्वतन्त्र मधेशको माग गरिरहेका जयकृष्ण गोइतसँग वार्ता गर्ने तर शान्तिपूर्ण आन्दोलन गर्ने डा.राउतसँग वार्ता नगर्ने?’ हुलाकी न्यूजको प्रश्नमा संयोजक पाण्डेले भने,‘गोइत जीले छुटै झण्डा बनाउनु भएन। छुटै नक्सा पनि बनाउनु भएन। त्यसकारण उहाँकाे समूहसँग वार्ता गरियो।’

गोइत नेतृत्वको संगठनका ९ जना केन्द्रीय सदस्यसँग वार्ता गरी शान्ति प्रक्रियामा ल्याएको दाबी पाण्डेले गरेका छन्। उनका अनुसार अव गोइतसँग २ जना केन्द्रीय सदस्य मात्र बाँकी छन्।

वार्ता टोलीले २३ वटा समूहसँग वार्ता गरेको छ भने ३ वटा समूहले हतियार बुझाएको छ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.