काठमाडौं, ११ वैशाख । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीचको एकीकरणलाई ‘दुई ढलका पानीबीचको मिलन’ को संज्ञा दिएका छन् ।

डा. राउतले बिहीबार सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै दुबै दल एकीकृत हुँदैमा मधेशीको चाहना पूरा हुन नसक्ने टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्–‘दुई ढलका पानी मिल्यो, धेरै पानी भयो । के यसले तपाईंहरू (मधेशीहरू) को तिर्खा मेट्छ ? तिर्खा मेटाउन स्वच्छ, सफा र निर्मल पानी चाहिन्छ, बरु थोरै किन नहोस् ।’

उनले आफ्नो पार्टी मात्र मधेशका लागि निर्मल जल भएको र पुनर्जीवन दिने अमृत रहेको दाबी पनि गरेका छन् । डा. राउतले दुबै दललाई ‘शौचालयबाट बगाइएको ढलको पानी’ भन्दै यी दलले मधेशी जनताको तिर्खा मेट्न नसक्ने टिप्पणी गरेका छन् ।

उनले कोरोना भाइरसको कहरका कारण मधेशी जनता भोकले आक्रान्त भएका बेला लुकेर बसेका नेताहरू अहिले कुर्सी खोसिन लागेपछि बाहिर निस्केको पनि आरोप लगाएका छन् ।

यस्तो महामारीका बेला जनतालाई प्रताडित गर्ने तथा राहत खाइदिने भ्रष्टाचारी र नैतिक स्खलित भगौडाहरूबाट मधेशीको हित नहुने पनि उनले दाबी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.