काठमाडौं, १५ वैशाख । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईले रेडियो नेपाललाई दिएको अन्तरवार्ताका कारण यो सञ्चारगृहले क्षमा नै मागेको छ ।

सोमबार बिहान साढे ६ बजे अन्तरसंवाद कार्यक्रममा डा. भट्टराईलाई अतिथिको रुपमा निम्त्याइएको थियो । तर, अन्तर्वार्तामा भट्टराईले प्रधानमन्त्री केपी शर्माको आलोचना गरेपछि रेडियो नेपालमा हंगामा भएको हो ।

कार्यक्रममा भट्टराईले बोलेका अभिव्यक्तिले आफूहरूलाई दुखी तुल्याएको रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले सोमबार निकालेको विज्ञप्तिमा उल्लेख छ ।

‘समाचार महाशाखा प्रमुख डा. नवराज लम्सालद्वारा सञ्चालित उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई अतिथिका रूपमा निम्त्याइएकोमा उहाँले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दुखी तुल्याएको छ,’ कार्कीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

अब उप्रान्त रेडियो नेपालबाट प्रशारण हुने कार्यक्रमहरूमा अतिथि चयन गर्दा गम्भीर रूपमा सचेत रहने भनेर विज्ञप्तिमा लेखिएको छ । साथै, कार्यक्रम लाइभ प्रशारण भएकाले सम्पादन गर्न नसकिएको भनेर क्षमा नै मागिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.