टीकापुर घटना पछि थारुहरुमाथि यसरी भयो अन्याय (रिपोर्ट)

नेपालको न्याय प्रणालीमा निर्दोष व्यक्तिलाई जानाजान थुनामा पठाउने काम पनि हुन्छ । नगरेको अपराधमा तीन वर्ष जेल बसेर छुटेका कैलालीका बिसराम चौधरी, रामनरेश चौधरी र नुरल अलि जागाले भोगेको भुक्तमान ।

जेवी पुन मगर: खोज पत्रकारिता केन्द्रका लागि


२०७२ सालसम्म सरकारको नजरमा बिसराम चौधरी सुदूरपश्चिम क्षेत्रकै उत्कृष्ट किसान थिए । कृषिमा उनको   सफलताका कथा राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्चमा भाकिन्थे । प्रकाशित–प्रसारित उत्प्रेरक कथाहरूमा उनलाई ‘कृषि क्रान्तिका अभियन्ता’ भनिएको हुन्थ्यो । देशदेशावरमा हुने प्रशिक्षणहरूमा उनलाई स्रोत व्यक्ति बनाइन्थ्यो । कृषिमा वार्षिक रु.५० लाखभन्दा बढीको कारोबार गर्ने बिसरामको सिद्धार्थ केरा बाली विकास कृषक समूहलाई कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विभागको कृषि प्रसार निर्देशनालयले २०६६ सालमा ‘सुदूरपश्चिमबाट उत्कृष्ट भएको’ भनेर रु.५ हजार पुरस्कार दिएको थियो ।

त्यसको तीन वर्षपछि २०६९ सालमा भूमिसुधार मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र कृषि विकास बैंकले संयुक्त रूपमा ‘देशमा कसरी आधुनिक कृषि प्रणाली लागू गर्न सकिन्छ ?’ भनेर अध्ययन गर्न २२ जनाको उच्चस्तरीय टोली बनाए । यो टोली एक महीनाको अध्ययन भ्रमणमा इजरायल समेत गयो । बिसराम टोलीका एक सदस्य थिए ।

समयको पासा पल्टियो । २३ चैत २०७२ को बिहान ११ बजे नर्सरीको ब्याडमा काम गरिरहेका बेला बिसराम पक्राउ परे । पक्राउ पुर्जीमा ‘चोरी, लुटपाट, ज्यान मार्ने उद्योग र हत्या अभियोगमा अनुसन्धानका लागि पक्राउ गर्नुपरेको’ उल्लेख थियो । प्रहरी हिरासतमा पुगेपछि उनले पक्राउको वास्तविक कारण थाहा पाए ।

घरभन्दा करीब ८ किलोमिटर उत्तर–पश्चिममा पर्ने टीकापुरमा ७ भदौ २०७२ मा भएको घटनामा संलग्न भएको भनेर उनलाई समातिएको थियो, जहाँ ८ सुरक्षाकर्मी सहित एक नाबालकको हत्या भएको थियो । प्रहरीका अनुसार त्यसबेला केही हातहतियार समेत लुटिएका थिए ।

पक्राउ परेका बिसरामले ७ भदौमा आफू घरबाहिर कतै नगएको बताए । प्रहरीले उनको कुरा सुनेन । अभियोग दर्ता भयो, अदालतले पुर्पक्षका लागि थुनामा पठायो । तीन वर्ष जेल बसेर निस्किएका बिसरामले १५ चैत २०७५ मा आफ्नै घरमा घटनाको बेलिबिस्तार लगाउँदै भने, “त्यस दिन म दिनभर नर्सरीमा काम गरेर बसेको थिएँ, कहाँ आन्दोलनमा जानू !” हिरासतमा आफूले प्रहरीलाई गरेको अनुरोध स्मरण गर्दै उनले भने “तपाईंहरूले मेरा छिमेकीलाई सोध्न सक्नुहुन्छ, उनीहरू साक्षी छन् भनें तर मरिगए सुनेनन् ।”

उनलाई तीन वर्षसम्म धनगढीस्थित जिल्ला कारागारमा राखियो । कैलाली जिल्ला अदालतले २२ फागुन २०७५ मा प्रहरीको दाबी पुष्टि हुन नसकेको भनेर बिसरामलाई निर्दाेष ठहर ग¥यो । उनी रिहा भए ।


 

१४ भदौ २०७२ का दिन रामनरेश चौधरी बर्दिया, राजापुरको नवप्रतिभा बोर्डिङ स्कूलमा कक्षा १० का विद्यार्थीलाई गणित विषय पढाइरहेका थिए । राजापुरकै चनौरास्थित कालिका माध्यमिक विद्यालयका शिक्षक रामनरेश बोर्डिङ स्कूलमा ‘पार्ट टाइम’ कक्षा पनि लिन्थे ।

बिहानको ७ बजेको थियो । विद्यालय हाताभित्र छिरेका दुई जना व्यक्ति एकछिन पियनसँग खासखुस गरेपछि सोझ्ै रामनरेशले पढाइरहेको कोठामा आए । तीन वर्ष पुरानो घटना सम्झ्ँदै रामनरेश भन्छन्, “तीमध्ये एकले हामी ‘प्राक्टिस बूक’ बेच्न आएका हौं, तपाईंसँग कुरा गर्नु छ बाहिर आउनोस् भन्यो । मैले हामीलाई अहिले ‘प्राक्टिस बूक चाहिंदैन’ भनें । लगभग धम्क्याएको लवजमा तिनले बाहिर आउनोस् भन्दै विद्यालय हाता बाहिर लगे र ‘तपाईंलाई पक्राउ गरिएको छ’ भनेर बाइकको बीचमा राखेर दौडाए ।”

त्यहाँबाट ४ किलोमिटर उत्तरमा रहेको नंगापुर र चख्खापुरको सिमानामा युनिफर्म लगाएका ६÷७ जना प्रहरी भ्यानमा कुरिरहेका थिए । उनलाई भ्यानमा हालियो र करीब ११ किलोमिटर परको टीकापुर इलाका प्रहरी कार्यालय पु¥याइयो । टीकापुरमा आधा घण्टा राखेर उनलाई १४ किमी उत्तरमा अवस्थित पूर्व–पश्चिम राजमार्गसँगैको लम्की इलाका प्रहरी कार्यालय, लम्कीबाट सुक्खड, अनि सुक्खडबाट प्रहरी भ्यानमै रातको १२ बजे जिल्ला प्रहरी कार्यालय धनगढी पु¥याइयो ।

राजापुरदेखि धनगढीसम्मको करीब सय किलोमिटर यात्रा रामनरेशको दिमागमा कहिल्यै नबिर्सने गरी बसेको छ । तीन वर्षपछि १८ चैत २०७५ मा टीकापुर नगरपालिकाको सत्ती गाउँमा भेटिएका रामनरेशले त्यो घटना सम्झ्ँदै भने, “७ भदौमा सुरक्षाकर्मीमाथि भालाले आक्रमण गर्ने तँ हैनस् भनेर गाडीभित्रै कुटे । म त्यो दिन स्कूल पढाइरहेको थिएँ भनें, उनीहरुले साप्रा र ढाडमा हेल्मेटै हेल्मेटले हाने । सुख्खड प्रहरी चौकीमा रक्सीले मातेका प्रहरीहरू आउँदै पालैपालो बुट र लट्ठीले चुटे । अहिले त्यो सपना झ्ैं लाग्छ ।”

टीकापुर घटनाको दिन रामनरेश कालिका माविमा पढाइरहेका थिए । घरबाट १५ किलोमिटर टाढाको विद्यालयमा पढाउने हुँदा उनी उतै डेरा लिएर बस्थे । ७ भदौको उनको हाजिरी रजिष्टर, विद्यालयका प्रधानाध्यापक र विद्यार्थीको बयानले पनि चौधरी त्यस दिन विद्यालयमै रहेको प्रमाणित हुन्छ । रामनरेशले अदालतमा आफू निर्दाेष रहेको बयान दिएपछि घरनजिकै रहेको सुक्लीपुर प्रहरी चौकीका इन्चार्ज कृष्णबहादुर बोहोरा विद्यालयमै गएर उनको हाजिरी रजिष्टर जाँच गरेका थिए ।

यसका बावजूद दश वर्षदेखि शिक्षण पेशामा रहेका रामनरेशलाई अनुसन्धानको नाममा ४३ दिनसम्म जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखियो । त्यसपछि प्रहरी अनुसन्धान र सरकारी वकिलको अभियोजन बमोजिम मुद्धा पुर्पक्षका लागि उनले नगरेको अपराधमा ३ वर्ष ६ महीना ८ दिन थुनामा बिताउनुप¥यो । २२ फागुन २०७५ मा कैलाली जिल्ला अदालतले ‘निर्दोष रहेको’ फैसला गरेपछि रामनरेश थुनामुक्त भए ।


टीकापुर घटना भएको ७ भदौ २०७२ का दिन मदिन तुनुर मोहरूम्मुल ऊलुम मदरसा प्रावि सञ्चालक समितिका अध्यक्ष नुरुल अलि जागा गाउँमा एउटा विवाद निप्टारा गर्न व्यस्त थिए । गाउँको मुसलमान बस्तीबाट घाँस काट्न गएका ताज मोहम्मद जागा (२३) ले धान पनि काटिदिएपछि पल्लो टोलका केदार डगौरा (२४) सँग उनको झ्गडा भयो । दुईजना बीचको हातपातमा केदारले लगाएको सुनको लकेट हराएपछि दुई टोलका गाउँलेबीच चर्किएको विवाद मिलाउन ‘पंचायत’ नै राख्नुप¥यो ।

थारूवान÷थरूहट संघर्ष समितिले हरेक गाउँका भलमन्सा (थारू समुदायमा न्याय सम्पादन गर्ने हैसियत भएको व्यक्ति) लाई ‘एक घर एक व्यक्ति’ आन्दोलनमा सरिक हुन उर्दी जारी गर्न लगाएको थियो ।

७ भदौमा स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको टीकापुर बजारमा गएर सरकारी कार्यालयहरूमा ‘थारूवान÷थरूहट स्वायत्त राज्य’ लेख्ने घोषित कार्यक्रम थियो । भलमन्सा चन्द्रलाल डगौराले पनि गाउँलेलाई ‘आन्दोलनमा जाने’ निर्णय सुनाएका थिए । तर, गाउँमै विवाद चर्किएपछि सबैजना ‘पंचायत’ मै व्यस्त थिए ।

“विवाद चर्किएपछि २ दिन (७ र ८ भदौ) सम्म गाउँमै पंचायत राख्नुप¥यो, जागा सहित खैराहा उत्तरटोलका ७० घर किसान दुई दिनसम्म त्यहीं थियौं” चन्द्रलाल भन्छन्, “जागालाई प्रहरीले आन्दोलनमा गएको र हत्यामा संलग्न भएको आरोप लगाएर पक्राउ गरेपछि म पनि बयान दिन गएँ ।” चन्द्रलाल मात्र होइन खैराहा गाउँका इन्द्रकुमार मल्लाह, मुस्ताक अलि र रइस अलि जागा पनि नुरल अलि जागाको पक्षमा बयान दिन धनगढीस्थि जिल्ला अदालत पुगेका थिए ।

तर, कैलाली जिल्ला अदालतले जागालाई पुर्पक्षका लागि थुनामा पठायो । हत्या सहित तीन वटा संगीन अपराधको अभियोगमा जागाले ३ वर्ष ६ महीना जेलमा बिताए । जिल्ला अदालतले २२ फागुन २०७५ मा निर्दाेष ठहर गरेपछि उनी रिहा भए ।


मनलाग्दी बयान

कैलाली जिल्ला अदालतको फैसलापछि हामीले टीकापुर घटनामा थुनिएका, जेलबाट छुटेका, तिनका परिवार र फरार सूचीमा रहेका तथा कैलालीका अरु स्थानीयलाई भेट्यौं । टीकापुर घटनाबारे भएको प्रहरी अनुसन्धान, सरकारी वकिलको अभियोजन र न्यायालयको फैसला अध्ययन ग¥यौं । न्यायिक प्रणालीभित्र अवलम्बन गरिने कानून र प्रमाण केलायौं । त्यसबाट देखियो– फौजदारी न्याय प्रणालीभित्र निर्दोष व्यक्ति सजिलै जेल पुग्ने र उनीहरूलाई जानाजान थुनामा पठाउने काम पनि हुँदोरहेछ । प्रहरीले कसैलाई पक्राउ गरेर जबरजस्ती बयान कागजमा हस्ताक्षर गराउन सक्ने रहेछ ।

२१ भदौ २०७२ मा शिक्षक रामनरेशले प्रहरीसमक्ष दिएको भनिएको हस्ताक्षर सहितको बयान यसको उदाहरण हो । बयानको एउटा अंश यस्तो छ– “छिमेकीको घरमा लुकेर बसेका प्रहरी वरिष्ठ उपरीक्षकलाई बाहिर निकाली खुँडा प्रयोग गरेको र अन्य प्रहरी कर्मचारीहरू समेतलाई लखेटी आफूहरूसँग भएका हतियार प्रयोग गरी मारेका हौं ।”

प्रहरीको कागजातमा आफू सहित ११ जनाको समूहले प्रहरीमाथि सांघातिक हमला गरेको रामनरेशले बताएको उल्लेख छ । आक्रमणमा सीताराम चौधरी, फिरुलाल चौधरी, विश्राम चौधरी, फुलराम चौधरी, बालकृष्ण चौधरी, शिवकुमार चौधरी, चमन चौधरी, श्रवण चौधरी, करन चौधरी, प्रदीप चौधरी र हरिनारायण चौधरी संलग्न रहेको भन्ने रामनरेशको भनाईलाई किटानीका साथ उल्लेख गरिएको छ ।

यसरी किटानी गरिएका आरोपितमध्ये नाबालक करन चौधरी (१४) लाई कैलाली जिल्ला अदालतले ६ महीना सजाय तोक्यो भने श्रवण चौधरी (१६) लाई हत्यामा संलग्न रहेको अभियोगमा जन्मकैदको सजाय सुनाएको छ । तर, नाबालक भएकोले श्रवणलाई बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा ११ (३) बमोजिम दश वर्षको सजाय तोकिएको छ । रामनरेशको बयान समेतका आधारमा अदालतले हरिनारायण र प्रदीप चौधरीलाई जन्मकैद तथा विसराम चौधरीलाई ३ वर्ष ६ महीना सजाय तोकेको छ । बाँकीलाई प्रहरीले फरार अभियुक्तको सूचीमा राखेको छ ।

“यी कुनै मान्छेलाई म चिन्दिनँ” रामनरेश भन्छन्, “कारागारमा पुगेर मात्रै देखेको हुँ ।” प्रहरीले कसरी यस्तो बयान बनायो ? रामनरेश भन्छन्, “त्यसदिन जिप्रकामा मैले दिएको बयान एक जना प्रहरी अधिकृतले सारिरहेका थिए । उनले मलाई त्यसमा हस्ताक्षर गर्न भने । मैले सही गर्नुअघि एकचोटि पढ्न पाए हुन्थ्यो भनें । मैले त्यति भन्नसाथ उनले अगाडि रहेको प्लाष्टिकको कुर्सी मेरो टाउकोमा बजारे ।” २१ भदौ २०७२ को त्यो दिन सम्झ्ँदै रामनरेश भन्छन्, “गर्ने बेला के के गर्छस्, अहिले आएर हेर्न माग्ने भनेर पिट्दै आफूले लेखेको बयानमा हस्ताक्षर गराए ।”

जसरी अपरिचित श्रवण चौधरी र प्रदीप चौधरी (१८) सँग मिलेर ‘प्रहरीमाथि सांघातिक हमला गरेको’ रामनरेशको बयान तयार पारिएको छ, त्यसैगरी श्रवण र प्रदीपको बयानमा अदालतबाट सफाइ पाएका अर्का अभियुक्त ‘बिसराम हामीसँगै घटनामा संलग्न थिए’ भन्ने समेत उल्लेख छ । “म एक्लो मान्छे, केराबारी छाडेर अन्त जान फुर्सदै हुन्न । घटनाबारे सोही दिन साँझ् टेलिभिजनमा समाचार सुनेर थाहा पाएको हुँ” अदालतमा दिएको बयानमा बिसराम भन्छन्, “श्रवण चौधरी र प्रदीप चौधरीले मेरो समेत संलग्नता रहेको भनेर किन बयान दिए थाहा भएन । उनीहरूलाई म चिन्दिनँ ।”

८ सुरक्षाकर्मी र एक नाबालक मारिएकोे घटनामा प्रमुख साक्षी बनाइएका चिलमचौराहा नजिक रहेको मोति माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने करन चौधरीलाई प्रहरीले समातिएका मान्छेलाई ‘घटनामा प्रत्यक्ष संलग्न थिए’ भन्ने पुष्टि गर्न प्रयोग गरेको देखिन्छ । ‘रमिता हेर्न गएका’ बालकलाई प्रहरीले तयार गरेको अभियुक्तहरूको लामो सूची घोक्न लगाइएको र तिनको पहिचान गर्न लगाएको खुलेको छ । (पढ्नुस् ३२ जनाको नाम घोक्न लगाए)

टीकापुर घटनापछि प्रहरीले ५८ जनाको सूची बनाएर अनुसन्धान शुरू गरेको देखिन्छ । यीमध्ये २७ जनालाई पक्राउ गरेको प्रहरीले ३१ जनालाई फरार सूचीमा राखेको छ । यो मुद्दामा सांसद रेशम चौधरी सहित ११ जना आजन्म काराबासको सजाय भोगिरहेका छन् ।

बर्बादीपछि निर्दोष

बिसराम, रामनरेश र जागालाई कैलाली जिल्ला अदालतले तीन वर्षपछि निर्दाेष ठहर त ग¥यो तर त्यतिञ्जेलसम्म उनीहरूको जीवनमा नहुनुपर्ने धेरैथोक भइसकेको थियो । जेलबाट छुटेर बिसराम घर पुग्दा श्रीमती, ६ वर्षीया छोरी अनि आफन्तले स्वागत गरे । तर, २० बिघा जमीनमा लगाइएको नर्सरी, नगदेबाली र दुःखसुख चलाएको एग्रोभेट लथालिङ्ग भएको थियो ।

श्रीमतीले भोग्नु हैरानी भोगिन् । एग्रोभेटमा दिनभर बस्दा खेतमा लगाइएका केरा चोरी भए । नर्सरीका बोटबिरुवा कसैले उखेलेर लगे, कति काटेर नष्ट गरिदिए । बिसराम जेलमा छँदै उनको गाउँ, नारायणपुर–६ बाट टीकापुर नगरपालिकामा उक्लियो । तीन वर्षपछि घर फर्कंदा उनको आर्थिक अवस्था भने तहसनहस भइसकेको थियो । ऋण लिएर गरिएको व्यवसाय टाट पल्टियो । “४७ लाख रुपैयाँ ऋण छ, कृषि विकास बैंकको ब्याज मात्रै १५ लाख पुगेको छ” लामो सास तान्दै बिसरामले भने, “इण्डिया र नेपालका साहूबाट ल्याएको सामानको तिर्न बाँकी पैसाको त हिसाब नै छैन ।”

तीन वर्ष अघिसम्म समयभित्रै किस्ता तिर्दै आइरहेकोले बिसराम कृषि विकास बैंकको असल ऋणीमा गनिन्थे । बैंकले असल ऋणीलाई दिने ‘ग्रीन कार्ड होल्डर’ पनि हुन् उनी । अहिले त्यही बैंकले ‘जग्गा लिलाम गर्ने सम्बन्धमा’ पत्र काटेको छ ।

दुइवटा विद्यालयमा पढाएर पाँच जनाको परिवार पालेका रामनरेशको बस्ने सानो झ्ुपडी थियो । तर, उनी जेल गएपछि गर्जाे टार्ने एक बिघा जमीन जोत्ने कोही भएन । लोग्ने जेल परेपछि एक छोरा, बाबा र बाजे सहितको परिवार पाल्न श्रीमतीले ढुंगा बोक्नेदेखि र खेती मजदूरीसम्मको काम गरिन् । ती कामका भरमा आठ वर्षको छोरा, नब्बे वर्षको बूढाससुरा र ५५ वर्षीय ससुराको पालनपोषण गर्नु सजिलो थिएन । सबभन्दा नराम्रो कुरा, बच्चाको पढाइ बिग्रियो ।

बिसराम र रामनरेश भन्दा कमजोर आर्थिक अवस्थाका जागा जेल परेपछि परिवारको झ्न् बिजोग भयो । पाँच भाइको संयुक्त परिवारमा बसिरहेकोले श्रीमती र तीन बच्चाको पालनपोषणमा दाजुभाइले सघाए । तर, पैसाको अभावमा उनका बच्चाले पढ्न पाएनन् । “म जेल परेपछि दाजुहरुले जसोतसो खान–बस्न त दिए, तर बच्चाहरुको स्कूल छुट्यो” जागा भन्छन्, “ढिलै भए पनि अदालतले न्याय दियो । अब सरकारबाट क्षतिपूर्ति पाए बच्चा पढाउन हुन्थ्यो ।”३ वर्ष ६ महीना ८ दिनपछि निर्दोष ठहर भएर घर फर्केका रामनरेश श्रीमती र बालबच्चाको अवस्था देख्दा रुन मात्र सकेनन् । भर्खरै उनले बर्दिया राजापुर बुधियानाको नेपाल राष्ट्रिय माविमा करारमा नियुक्ति पाएका छन् । “डामाडोल भएको आर्थिक अवस्था त केही वर्षमा उकासिएला” उनले भने, “तर राज्यले निधारमा लगाइदिएको ‘हत्यारा ट्याग’ मेटिन कति वर्ष पो लाग्ने हो !”

प्रहरीले जबर्जस्ती अभियुक्त बनाउने, अनेक भुक्तमान व्यहोरिसकेपछि भने अदालतबाट निर्दोष ठहरिने यो अबस्थाले फौजदारी न्याय प्रणालीकै बिजोग देखाउँदैन ? “घटनाको तात्कालिक अबस्था, संकलित प्रमाण–बयान र पक्राउ परेका व्यक्तिले दिने बयानका आधारमा मुद्धा अदालत जान्छ”, नेपाल प्रहरीका प्रवक्ता, डीआइजी विश्वराज पोखरेल भन्छन्, “साविती बयान दिएका अभियुक्तले अदालतमा बयान फेर्छन्, तीन बर्षसम्म सजाय हुने कसूरमा पुर्पक्षमा गएका व्यक्तिले एक बर्ष सजाय काटिसकेको अबस्थामा पनि अदालतले छाडिदिन्छ । सामान्यतः पुर्पक्षमा गएकाले कमै मात्र सफाइ पाउँछन् । कुनै मुद्धामा पुर्पक्षमा गएका पाँचजनामध्ये दुइजनाले सफाइ पाए पनि तीनजनाको अभियोग ठहर भएकै हुन्छ ।”

बर्षौं जेलमा बसिसकेपछि निर्दोष ठहर हुनेले क्षतिपूर्ति पाउनु पर्दैन ? “अन्य मुलुकमा यस्तो अभ्यास छ, तर हामीकहाँ यो स्वाभाविक र सहज हुँदैन” डीआइजी पोखरेल भन्छन्, “हाम्रोमा त्यसो गर्ने बेला पनि भएको छैन । यसो गर्न हाम्रो अनुसन्धान प्रणालीमै ठूलो लगानी आवश्यक पर्छ, अनि राज्य पनि सक्षम हुनुपर्छ ।”

‘रमिते’ लाई कैद

टीकापुर काण्डमा प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरीको अभियोगमा पक्राउ गरेका २७ मध्ये १३ जनालाई कैलाली जिल्ला अदालतले मुलुकी ऐनको दफा १७ (३) अनुसार सजाय सुनाएको छ । उनीहरू रिहा भइसकेका छन् । साबिकको मुलुकी ऐनको ज्यान सम्बन्धी महलको दफा १७ (३) मा ‘मार्ने ठाउँमा गई अरू कुरा केही नगरी हेरिरहने’ व्यक्तिलाई ६ महीनादेखि बढीमा तीन वर्षसम्म कैद हुने व्यवस्था छ ।

टीकापुर घटनामा डेढ बर्षे छोरा गुमाउने यशोदा साउद । छोराका तस्बिर देखाउँदै । तस्वीरः कृष्ण अधिकारी

नाबालक करन चौधरी बाहेक अरू १२ जना अभियुक्त कोही पनि ‘रमिते’ थिएनन् । टीकापुरमा प्रहरी र आन्दोलनकारीबीच झ्डप भैरहेको समयमा थरूहट÷थारूवान संघर्ष समितिका कैलाली संयोजक लाहुराम चौधरी  घटनास्थल भन्दा १०० किलोमिटर पश्चिम धनगढीमा जिल्ला प्रशासन कार्यालय अगाडि भाषण गरिरहेका थिए । प्रहरी प्रशासनलाई यसबारे थाहा छ । र पनि, उनी यही दफा अन्तर्गत ३ वर्ष ६ महीना जेल परे ।

अर्का आरोपी, थरूहट आन्दोलनका नेता लक्ष्मण चौधरी घटनाको दिन लमही, कोहलपुर हुँदै गुलरिया पुगेको प्रहरीलाई थाहा थियो । उनको ‘कल डिटेल्स’ बाट पनि यो देखिन्छ । गुलरिया टीकापुरबाट ६५ किलोमिटर पूर्वमा पर्छ । तर, अदालतमा उपस्थित साक्षी मार्फत उनलाई पनि घटनास्थलमै देखाइएको छ । उनले मृतक प्रहरीमाथि सांघातिक हमला गरेको बयान बनाइएको छ । वास्तविकता चाहिं लक्ष्मणलाई ‘आक्रोशपूर्ण फेसबूक स्टाटस’ लेखेका कारण मुद्दा चलाइएको थियो ।

टीकापुरबाट करीब २५ किलोमिटर दक्षिण पश्चिममा रहेको भजनी बजारमा मेडिकल पसल चलाइरहेका प्रेमबहादुर चौधरी (स्थानीयले उनलाई डाक्टर भन्छन्) लाई पनि पक्राउ गरिएको थियो । भएको के थियो भने, प्रेमबहादुरको बाख्रा बिरामी भएपछि गाउँले मिलेर काटेर खाएका थिए । तर प्रहरीले टीकापुर घटनामा प्रहरी मारिएको खुशीमा खसी काटेर खाएको भनेर उनलाई पक्राउ ग¥यो । ७ भदौमा प्रेमबहादुरको मेडिकलमा आफ्नो छोरा गोकर्णलाई उपचार गराउन आएकी स्थानीय बतसिया डगौरा भन्छिन्, “त्यस दिन बिहानदेखि बेलुकीसम्म ‘डाक्टर’ यहीं थिए ।” प्रहरी हिरासतको यातनाले प्रेमबहादुरको कानको जाली फुटेको छ ।

थारू आन्दोलनले विद्यालय बन्द भएकोले घटनाका दिन थापापुर (हाल खैराहा) स्थित त्रिपुरासुन्दरी निमाविका शिक्षक सन्तराम चौधरी आफ्नो पसलमै थिए । टीकापुरको गणेशबाबा सेकेण्डरी स्कूलमा कक्षा ६ मा आवासीय शिक्षा लिइरहेका छोरा प्रभात चौधरीले फोन गरेर ‘स्कूल बन्द भएकोले लिन आउन’ भनेपछि सन्तरामले साथी किसनलालसँग मोटरसाइकल मागे । पन्चर भएको मोटरसाइकल बनाएर टीकापुर जान हिंडेका उनी मानिसको हूल देखेपछि बीच बाटोबाटै फर्किए ।

“त्यसपछि दिनभर उनी पसलमै थिए, म यहीं छु” खैराहाकै हरिराम आचार्य (५०) भन्छन्, “नभएको आरोपमा फँसाएपछि म आफैं धनगढी पुगेर यथार्थ बताइदिएको थिएँ, तर मेरो कुरा सुनिएन ।” सन्तराम भन्छन्, “नगरेको दोष हाम्रो टाउकोमा थोपरियो । अहिले पनि घरमै नजरबन्द जस्तो जीवन बिताउनुपरेको छ ।” थरूहट आन्दोलनताका कार्यक्रमहरूमा उद्घोषकको भूमिका निभाएकोले आफूलाई समातिएको हुनसक्ने ठान्छन्, सन्तराम ।

अनुसन्धानमा कतिसम्म लापरबाही गरियो भन्ने एउटा उदाहरण हो– ‘विद्रोह’ भन्ने सीताराम चौधरीको कथा । कैलालीको थापापुर–७, नवलपुरका फुलराम डगौराका ३५ वर्षीय छोरा सीताराम नभएर सन्तकुमार चौधरी हुन् । प्रहरीको अभिलेख अनुसार सन्तकुमार टीकापुर घटनाका ‘फरार अभियुक्त’ हुन् । आश्चर्यलाग्दो तथ्य के भने माओवादीका पूर्वलडाकू यी तिनै ‘फरार’ व्यक्ति हुन् जो सीताराम चौधरीको नाममा आजन्म काराबास भोगिरहेका छन् ।

‘३२ नाम घोक्न लगाए’

टीकापुर घटनामा प्रमुख साक्षीका रूपमा प्रयोग गरिएका व्यक्ति हुन्, करन चौधरी । ट्युसन पढेर साथीहरूसँग टीकापुर गएका १४ वर्षीय करनकै अगाडि गोली चल्यो । गोली चलेपछि भागाभाग भयो । भागाभागमा साथीहरू आन्दोलनकारीहरूको भीडमा हराए । करन चाहिं सडक किनारमा उभिएर रमिता हेर्न थाले । पहिला पुलिसले लखेट्यो । त्यसपछि पुलिसलाई आन्दोलनकारीले लखेटे । तिनले प्रहरीमाथि घरेलु हतियारले आक्रमण गरे ।

यो बीभत्स घटनाका रमिते करनलाई ‘प्रहरी मारेको र हतियार लुटेको’ अभियोगमा सादा पोशाकमा आएका प्रहरीले घरबाटै पक्राउ गरे । उनलाई धनगढीस्थित जिल्ला प्रहरी कार्यालयमा पु¥याएर ३२ जनाको नाम घोक्न लगाइयो । ती सबै टीकापुर घटनामा समातिएका र फरार सूचीमा रहेका आरोपीहरू थिए ।

“मलाई लिस्ट देखाएर चिन्छस् भने । मैले चिनेको थिएनँ, छैन भनें” तीन वर्ष पुरानो घटना सम्झ्ँदै २१ चैत २०७५ मा करनले भने, “मलाई दुई दिनमा जसरी पनि घोक् भनेर दिए । लिस्टमा भएका ती मान्छेले प्रहरीलाई लखेटी–लखेटी मारेको भन्नु भने । मैले अदालतमा त्यही भनिदिएँ ।”

करनले अदालतमा दिएको बयानबाट पनि यो पुष्टि हुन्छ । “प्रतिवादी प्रदीप चौधरीले प्रहरीको हातबाट हतियार खोसी श्रवण चौधरीलाई दिई श्रवण चौधरीले हतियार लगी गएको देखेको हुँ । प्रतिवादी राजाराम चौधरीले वारदातमा प्रहरीलाई मार्दाको अवस्थामा मोबाइलमा रेकर्ड गरेको देखेको हुँ” उनको बयानमा भनिएको छ, “प्रहरीलाई मारे पश्चात मलाई रेशमलाल चौधरी र नाम थाहा नभएका व्यक्तिहरूले काँधमा राख्दै बधाई छ भाइ भनेका थिए ।”

अहिले १७ वर्ष पुगेका करन भन्छन्, “मैले कसैलाई चिनेको थिइनँ । त्यसबेला समातिएका सबैलाई जिल्ला प्रहरी कार्यालयको एउटा हलमा ल्याएर मान्छे देखाउँदै लिस्टमा भएको नाम याद गर्न लगाउँथ्यो । मैले अदालतमा त्यही बयान दिएँ ।” कैलाली जिल्ला अदालतको आदेश बमोजिम नाबालक रहेकोले करनलाई बालसुधार गृह सराङकोट, पोखरा पठाइएको थियो । करनको परिवार अहिले असुरक्षित ठानेर कैलालीबाट बसाई सरेको छ ।

स्रोत : https://cijnepal.org.np/00017-2019/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.