कोभिड-१९ (नोबल कोरोना भाइरस) को महामारीले सिङ्गो विश्व नै आक्रान्तित भइराखेको बेला जनमत पार्टी सदैव जनताको साथमा रही सेवा गर्दै आएको कुरा सर्वविदित नै छ। जनमत पार्टीका नेता, कार्यकर्ता तथा स्वयंसेवकहरू शुरुदेखि नै जनताको माझमा रहेर महामारी विरुद्ध जनचेतना फैलाउँदै तथा विभिन्न राहत उद्धारका कार्यहरू गर्दै अग्रपंक्तिमा संघर्ष गर्दै आएका छन्। कोभिड-१९ विरुद्ध अग्रपंक्तिमा संघर्षरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, समाजसेवी लगायत सबैलाई धन्यवाद ज्ञापन गर्न हामीले वैशाख २ गतेको लागि ‘एकता नाद’को उद्घोष गरेका थियौं। त्यसलाई सम्पूर्ण जनताले निर्धारित समय बिहान ७:०० बजे देशैभरि ताली, थाली, घंटी, शंख, ढ़ोल, सिटी आदि बजाएर भव्यताका साथ सफल पारी कोभिड-१९ विरुद्ध अग्रमोर्चामा खटेका सबैको मनोबल उच्च बनाइदिनुभएकोमा हामी धन्यवाद ज्ञापन गर्दछौं। संकटको यस घड़ीलाई प्रभावकारी तरिकाले सामना गर्न नेपाल सरकार, राजनैतिक पार्टीहरू तथा सम्पूर्ण सरोकारवालाहरूसँग हामी निम्न अपिल गर्न चाहन्छौं।

1. कोभिड-१९ को महामारीसँग लड़्न टेस्ट, ट्रेस, आइसोलेट र ट्रीटको रणनीति प्रभावकारी ढंगले संचालन गर्न जनसंख्याको अनुपातमा आवश्यक परीक्षण माध्यम (RDT/PCR) को सुलभ व्यवस्था गर्ने, सुविधायुक्त व्यवस्थित क्वारेन्टाइन र आइसोलेसन वार्डहरू संचालन गर्ने र उपचारका लागि आवश्यक भेन्टिलेटर, पीपीई, एन-95 मास्क, औषधी सहितका सरसामानहरू अस्पतालहरूलाई अविलम्ब उपलब्ध गराउन पहल गर्ने। अरू नै समस्याबाट ग्रस्त बिरामीहरूलाई समेत अस्पतालले सेवाबाट बंचित गरिराखेका र भर्ना नलिएका घटनाहरू प्रकाशमा आएकाले सो विषयमा सरकारले कड़ा कदम चाल्नु पर्ने।

2. कोभिड-१९ को महामारीसँग अग्रपंक्तिमा लड़िरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी आदिलाई आवश्यक हुने सुरक्षा उपकरण, मास्क, पीपीई आदि अविलम्ब उपलब्ध गराउने र उनीहरूको मनोबल उच्च राख्न सेवा-सुविधामा वृद्धि गरिनुका साथै उनीहरूलाई विमित गर्ने।

3. लक-डाउनको २५ दिन बितिसक्दा पनि देशका करिब ६५०० वडाहरूमध्ये अधिकांश वडामा अझै पनि नेपाल सरकारले राहत दिन सकेको छैन। परिणामस्वरूप लाखौं जनतालाई घरमा चुल्हो बाल्न धौधौ परिराखेको अवस्था छ। अझै पनि वडाहरू “विपन्न र गरिब” वर्ग पहिचान गर्न र सूची बनाउनमै अल्झेका छन्। राहत सूचीमा वास्तविक हकदारहरू नभई सत्ताधारी पार्टीका हुनेखाने कार्यकर्ताहरू र जनप्रतिनिधिकै आसेपासे तथा नातेदारहरूकै नाम समावेश भइराखेको अवस्था छ। राहतमा पनि चरम भागबण्डा, भ्रष्टाचार र कमिशनको खेल भइराखेको छ। लक-डाउनको २५ दिन भइसक्दा पनि अत्यावश्यक राहत यस्तो संकटको घड़ीमा लक्षित समूहसम्म पुर्‍याउन नसक्दा समग्र राज्य-व्यवस्था नै असफल भएको र जनतामा चरम निराशा व्याप्त हुनुका साथै जनता प्रताड़ित भइराखेको अवस्था छ। यस्तो अवस्थामा संघीय, प्रदेश र स्थानीय सरकारले अविलम्ब कडा कदम चाली प्रभावकारी तरिकाबाट आर्थिक रूपमा विपन्न, दलित र दैनिक ज्यालादारी गरी गुजारा गर्ने मजदुर सहित आवश्यक सबैलाई राहत पुर्‍याउन माग गर्दछौं।

4. राहतको लागि नागरिकता माग्ने, भोट हाम्रै पार्टीलाई दिएको हो कि होइन भनेर जनप्रतिनिधिले सोध्ने, राहत लिन आफ्नो पार्टीमा प्रवेश गर्न जनप्रतिनिधिले दबाब दिने आदि जस्ता कार्य गरी जनतालाई यस्तो संकटको समयमा यातना दिने घृणित काम भइराखेको हुँदा सो कार्यहरू तुरन्त बन्द गर्न गराउन सम्बन्धित सबैलाई अनुरोध गर्दछौं।

5. कोभिड-१९ को महामारीले विकराल रूप लिएमा र संक्रमण सामुदायिक स्तरमा फैलेमा अझ कडा रूपमा दीर्घकालसम्म लक-डाउन गर्नु पर्ने हुनसक्छ। सो अवस्थामा राहत, औषधी, खाद्यान्न लगायतका सामग्री प्रहरीले वा वडा कार्यालयले अनुशासित जनशक्ति राखेर घर-घरमै सुरक्षित तरिकाले पुर्‍याउनु पर्ने रणनीति लिनु पर्ने देखिन्छ। सोको आवश्यक तैयारी गर्न सम्पूर्ण स्थानीय सरकारहरूलाई अनुरोध गर्दछौं।

6. संसद् विकास कोषको रकम त्यसैपनि प्राय: कार्यकर्ता पाल्ने र चरम भ्रष्टाचार गर्ने माध्यम मात्रै रहेको देखिएकोले सङ्घीय संसद् र प्रदेश-सभाको संसद् विकास कोषको रकम कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्नु पर्ने हाम्रो ठहर रहेको छ।

7. संघीय, प्रदेश र स्थानीय तहमा भएको चरम भ्रष्टाचारलाई कोभिड-१९ महामारीको मौका छोपेर ढाकछोप गर्ने, बिर्सिने र ध्यान अन्यत्रै मोड्ने प्रयत्न भइराखेको हुँदा त्यसलाई रोक्न र जनप्रतिनिधि चुनिएदेखिका नै सबै अनियमितता र भ्रष्टाचार छानबिन गर्न हामी माग गर्दछौं। साथै, राहत वितरणमा हाल भइरहेको चरम अनियमितता र भ्रष्टाचारलाई स्थानीय तहदेखि संघीय तहसम्म छानबिन गरेर कारबाही प्रक्रिया अगाडी बढाउन हामी सम्बन्धित निकायसँग माग गर्दछौं।

8. राहत वितरणमा एकद्वारे नीति ल्याएर स्थानीय स्तरमा हाम्रो पार्टी तथा अन्य समाजसेवीहरूद्वारा गरिने गरेको राहत वितरणमा रोक लगाएको प्रति हाम्रो गम्भीर आपत्ति छ। स्थानीय सरकारहरूले आफ्नै राहत तथा संघीय वा प्रदेश सरकारले उपलब्ध गराएको राहत वितरण गर्न असफल रहेको अवस्थामा एकद्वारे नीति कदापि उपयुक्त नरहेको र सहयोगको कुरामा “आफू पनि नगर्ने, अरूलाई पनि गर्न नदिने” मानसिकताले सत्ताधारी पार्टीहरू ग्रस्त रहेको जनमत पार्टीको ठहर छ। राहत वितरणमा एकद्वारे नीति ल्याए पनि स्थानीय प्रशासनले सत्ताधारी पार्टीहरूलाई राहत वितरण गर्न पास दिने तर अरूलाई नदिने कुरामा पनि हाम्रो गम्भीर आपत्ति रहेको छ।

9. विभिन्न जिल्लामा राहत वितरण गर्न गएका हाम्रा पार्टीका कार्यकर्ताहरूलाई स्थानीय जनप्रतिनिधिहरूले आफ्नो राजनैतिक प्रभाव र साख गिर्ला भन्ने डरले प्रहरी प्रशासनलाई बोलाएर गर्न लगाएको दमनको हामी घोर भर्त्सना गर्दछौं। जनमत पार्टीका कुनै पनि नेता, कार्यकर्ता र स्वयंसेवकहरूमाथि हुने गरेको दमन अविलम्ब बन्द होस्।

10. काठमाडौं वा देशका अन्य भागबाट घर फर्कँदै गरेका र बाटोमा अलपत्र परेकाहरूलाई तुरुन्त उद्धार गरेर गन्तव्यसम्म पुर्‍याउने, आवश्यक परे क्वारेन्टाइनमा राख्ने वा आरडीटी गर्ने। काठमाडौं वा देशका अन्य ठाउँमा फसेका मजदुर, विद्यार्थी वा आम-नागरिकलाई बस्ने-खाने उपयुक्त व्यवस्था गर्न सम्बन्धित स्थानीय निकाय र प्रदेश तथा संघीय सरकारलाई अनुरोध गर्दछौं।

11. विदेशमा समस्यामा रहेका नेपाली नागरिकहरूलाई सकेसम्म सम्बन्धित देशमैं पहल गरेर उचित व्यवस्था गर्न लगाउने; ‘डिपोर्ट’ गरिएका वा फर्किन चाहने नागरिकहरूको हकमा उनीहरूलाई सुरक्षित तरिकाले ल्याउने, आवश्यकता अनुसार क्वारेन्टाइनमा राख्ने र घर फर्किन वातावरण तैयार गर्ने।

12. विभिन्न ठाउँमा प्रहरीहरूद्वारा अस्पतालको ड्युटीबाट फर्किँदै गरेका डाक्टरहरू, औषधी किनेर फर्किँदै गरेका बिरामीहरू र अत्यावश्यक सामान खरीद गरेर फर्किँदै गरेका जनतामाथि लाठीचार्ज भइराखेका घटनाहरू देखिन आएको हुँदा लक-डाउन र शान्ति-सुरक्षा पालन गराउन खटिएका सुरक्षाकर्मीहरूलाई ‘लक-डाउन’ को मर्म बुझ्न र ‘ब्लाङ्केट कारबाही’ नगरी मान्छेको अवस्था र कारण हेरी सही व्यवहार गर्न उपयुक्त निर्देशन जारी गर्न गृह-मन्त्रालयलाई आग्रह गर्दछौं। जनतामाथि अनुचित दमन गर्ने, अनावश्यक दम्भ देखाउने र मानवअधिकार हनन गर्ने प्रहरीहरूलाई आवश्यक कारबाहीको दायरा भित्र ल्याउने माग पनि गर्दछौं।

13. कोभिड-१९ को महामारी र लक-डाउन लम्बिएको खण्डमा कृषि प्रभावित हुने, विदेशबाट आयात हुने खाद्यान्न पनि रोकिने र खाद्यान्न संकट आई भोकमरी निम्तिन सक्ने हुनाले स्थानीय तहले नै मेशिनहरूको अधिकतम प्रयोग गर्दै नियन्त्रित वातावरणमा अनुशासित सिमित जनशक्तिले सम्पूर्ण वडाको जमीनमा सामुदायिक खेती गर्ने जिम्मेवारी लिने तिर अग्रसर हुनुपर्दछ।

14. कोभिड-१९ को महामारीको कठिन समयमा समस्त जनतासँग धैर्य र संयमतापूर्वक सरकारले घोषणा गरेको लक-डाउन पालन गर्न, विशेषज्ञहरूले भने अनुसार सरसफाइमा ध्यान दिन र मास्क प्रयोग गर्न तथा सुरक्षित रहन अपिल गर्दछौं।

……………………………………………
डा. सी. के. राउत
अध्यक्ष, जनमत पार्टी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.