जनकपुरबाट युवक बेपता : प्रहरीले थाल्यो अनुसन्धान


हुलाकी न्यूज, जनकपुरधाम :
जनकपुरबाट एक युवक बेपता भएको विषयमा प्रहरीले अनुसन्धान थालेको छ।

सोमबार साँझ जलेश्वरबाट काठमाडौंका लागि हिडेका २२ वर्षीय सिकिन्दर यादव जनकपुरधामबाट बेपता भएको परिवारजनले जनाएको छ।

महोत्तरीको एकडारा गाउँपालिका ४ का यादव काठमाडौं जान सावित्री डिलक्सको १८०८ को बसमा सवार भएका थिए। उनी जनकपुरधामस्थित रामानन्द चौकमा ओर्लेका थिए।

यादवलाई बस चालकले फोन गर्दा आफू मोटरसाइकलमा पिराडी चौक आउने भनेका थिए। तर, त्यहाँ पनि यादव आएनन् र बस काठमाडौंका लागि हिडेको थियो।

त्यसपछि उनको मोबाइल स्वीच अफ भएको परिवारजनले जनाएको छ।

यादवको परिवारजनले उनको अपहरण हुन सक्ने जनाएको छ।

तर, धनुषाका प्रहरी प्रमुख शेखर खनालले हुलाकी न्यूजसँग कुराकानी गर्दै भने,‘उनी अपहरणमा परेको उजुरी अहिलेसम्म दर्ता हुन आएको छैन। हामीलाई फोनमार्फत जानकारी आएको छ। हामीले अनुसन्धान सुरु गरेका छौं।’

एसपी खनालका अनुसार अपहरणमा परेको भए फिरौती अथवा अन्य कुनै सम्पर्क परिवारजनसँग हुनु पर्ने थियो। तर, परिवारजनसँग अहिलेसम्म कसैले सम्पर्क नगरेको उनले बताए।

बेपता भएका युवकसँग केही नगद र गरगहनासमेत भएको परिवारजनले जनाएको छ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.