जनकपुरधाम । प्रदेश २ को जनकपुरधाम र राजविराजमा आरटी पीसीआर (Real-time polymerase chain reaction) मेसिन जडान हुने भएका छन् ।

शुक्रबार यो मेसिन जनकपुरधामस्थित प्रादेशिक प्रयोगशालामा आइपुगेको हो । त्यस्तै, राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा पनि आरटी पीसीआर मेसिन जडान हुने भएको छ । राजविराजमा समेत शुक्रबारबाटै जडान कार्य सुरु हुने प्रदेश २ मुख्यमन्त्री सञ्चार सचिवालयले जनाएको छ ।

प्रयोगशाला पूर्ण रूपमा सञ्चालनमा ल्याउन कम्तिमा एक साता लाग्ने गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा. चुमनलाल दासले बताए । यो मेसिनले चार घण्टामा ९६ वटा नमूना परीक्षण गर्न सक्ने बताइएको छ ।

यसअघि, जनकपुरधाममा पोर्टेबल पीसीआर मेसिन जडान गरिएको थियो । यो मेसिनले एक दिनमा १० वटासम्म मात्र रिपोर्ट दिन सक्ने क्षमताको थियो । तर, जनकपुरधाममा सञ्चालनमा गरिएको पीसीआरले उल्टो रिजल्ट दिइरहेको खुलासा भएपछि जाँच नै बन्द गरिएको थियो ।

सर्लाहीका एक कोरोना संक्रमितको रिपोर्ट जनकपुरधामा निगेटिभ देखिएको थियो भने काठमाडौंको राष्ट्रिय प्रयोगशालामा पोजेटिभ रिपोर्ट आएपछि यो मेसिनबाट जाँच बन्द गरिएको थियो । त्यसपछि पुनः अर्काे पोर्टेबल पीसीआर जनकपुरधाम ल्याइएको थियो । तर, यो मेसिनले पनि गलत नतिजा दिएको थियो ।

दोश्रो मेसिनले पनि गलत नतिजा दिन थालेपछि फेरि जाँच बन्द गरिएको थियो । अब भने ठूलो क्षमताको मेसिन ल्याइएकाले स्वाब जाँचमा तीव्रता आउने विश्वास लिइएको छ । यसअघि, नारायणी अस्पतालमा आरटी पीसीआर मेसिन जडान भइसकेको छ । योसँगै प्रदेश २ मा आरटी पीसीआरको संख्या तीन पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.