चार वर्षपछि टीकापुरमा फेरि जम्मा हुँदै थारुहरू : यस्ताे छ अवस्था

फाइल फाेटाे

हुलाकी न्यूज, काठमाडौँ : टीकापुर घटना भएको चार वर्ष शनिवार पुरा हुँदैछ। उक्त अवसरमा देशैभरीका थारुहरू टीकापुरमा भेला हुँदै छन्।

संविधानमा आफ्नो माग समावेश गराउन २०७२ भदौ ७ गते तेस्रो मधेस–थरुहट आन्दोलनको क्रममा टीकापुर घटना भएको थियो। टीकापुरका सरकारी कार्यालयहरूमा ‘थरुहट प्रदेश’ लेख्ने र सभा गर्ने गर्न टीकापुर बजारतिर प्रवेश गर्न लागेका प्रदर्शनकारी र प्रहरीबिच झडप भएको थियो। जसमा प्रहरीसहित ९ जनाको मृत्यु भएको थियो।

उक्त घटनापछि टीकापुर बजारमा रहेका थारुहरूको घर र पसलहरूमा आगजनी भएको थियो भने आसपासका गाउँमा सुरक्षाकर्मीको यातनाका कारण एक जना थारुको मृत्यु भएको थियो। थारुहरूमाथि सुरक्षा निकाय र गैर थारु पक्षबाट मानव अधिकार उलङ्घन भएको भन्दै अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूले आपत्ति जनाएका थिए।

टीकापुरको उक्त घटनापछि त्यस क्षेत्रमा सद्भाव कायम गर्न र थारुहरूको माग सम्बोधन गराउन भदौ ७ गते शनिवार टीकापुरमा देशैभरीका थारुहरू भेला हुन गइरहेको नेता लक्ष्मण थारुले जनाएका छन्।

उनका अनुसार टीकापुर सम्मेलनले थारु र गैरथारुबीच सद्भाव कायम गर्नेछ। साथै वर्षौदेखि हेपिएका र अधिकारबाट वञ्चित रहेका थारुहरूको अधिकारका लागि सम्मेलन भइरहेको थारुले बताए।

सम्मेलनमा विभिन्न राजनीतिक दलका नेता तथा अगुवाहरूको सहभागिता रहने जनाइएको छ।

टीकापुर सम्मेलनबाट जेलमा रहेका सांसद रेसम चौधरीको रिहाइसँगै टीकापुर घटनाको आरोपमा जेल जीवन बिताइ रहेकाहरूको न्यायका लागि पनि आवाज उठाइने आयोजक समितिकी इन्दु चौधरीले जानकारी दिइन्।

समाजवादीका अध्यक्ष डा.बाबुराम भट्टराई, राजपाका नेता लक्ष्मणलाल कर्ण, विश्लेषक खगेन्द्र सङ्ग्रौला र वरिष्ठ पत्रकार किशोर नेपाललगायतले सभालाई सम्बोधन गर्नेछन्।

सुरक्षाका लागि आयोजक र प्रशासनबिच सात बुँदे सहमति

टीकापुरमा थारुहरू भेला हुँदा सुरक्षा चुनौती थपिने आकलन सुरक्षा निकायको थियो। जसका लागि कार्यक्रम आयोजनाप्रति सुरक्षा निकायले चासो देखाएका थिए।

कार्यक्रम शान्तिपूर्ण हुन दिन आयोजक र सुरक्षाकर्मीबिच सात बुँदे सहमति भएको छ।

सहमति पत्रको बुँदा नम्बर सातमा भनिएको छ,‘शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायले सुरक्षाका सबै उपायहरू अवलम्बन गर्ने।’

यसै गरी, सहमति पत्रमा सामाजिक सद्भाव खलबलिने र शान्ति सुरक्षामा असर पर्ने गरी कार्यक्रम अवधि भरी कुनै किसिमको नारा, जुलुस, वक्तव्य र सम्बोधन नगर्ने–गराउने भनिएको छ। कार्यक्रममा प्रवेश गर्ने सबैको सुरक्षा जाँचसहित परिचय खुल्ने परिचयपत्रको व्यवस्था गर्ने भनिएको छ।

स्वयम् सेवकलाई नेता र प्रहरीको प्रशिक्षण

टीकापुर सम्मेलनमा खटिएका स्वयम् सेवकलाई थारु नेता तथा प्रहरीले प्रशिक्षण दिएका छन्।

प्रहरीसँगै समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने गरी नेताहरू लक्ष्मण थारु, मीनराज चौधरी र इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी मनोहर प्रसाद भट्टले स्वयम् सेवकहरूलाई प्रशिक्षण दिएका छन्।

डिएसपी भट्टका अनुसार बुधवारदेखि नै टीकापुर र आसपास क्षेत्रको सुरक्षा व्यवस्था कडा गरिएको छ। टीकापुर बजार क्षेत्रमा मदिराजन्य बस्तु बिक्री वितरणमा रोक लगाइएको छ।

शङ्कास्पद व्यक्तिहरूमाथि निगरानी बढाउँदै सुरक्षाकर्मी थप गरिएको प्रहरीले जनाएको छ।

तयारी पुरासँगै सद्भावका लागि सरसफाइ

टीकापुर सम्मेलनको तयारी पुरा भएको आयोजक समितिका संयोजक मीनराज चौधरीले जानकारी दिएका छन्। उनका अनुसार कार्यक्रम स्थल तथा सहभागीहरूका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको छ।

कार्यक्रमको अघिल्लो दिन शुक्रवार थारु नेताहरूले टीकापुर बजारको सरसफाइ गरेका छन्। सामाजिक सद्भाव कायम गर्न र शनिवारको तयारी पुरा भएको देखाउन सरसफाइ कार्यक्रमको भएको आयोजकले जनाए।

टीकापुरमा थारुहरूको सम्मेलन हुन लाग्दा गैर थारुहरू भने मौन देखिएका छन्। उनीहरूले अहिलेसम्म न सहयोग न विरोध गरेको आयोजक समितिका सदस्यहरूले जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.