गोइतलाई थाहै नदिई सरकारसँग वार्ता


काठमाडौं : सरकारले गठन गरेको राजनीतिक वार्ता समितिसँग १८ वटा समूहका कार्यकर्ताहरुले पहिलो चरणको वार्ता गरिसकेका छन्। वार्ता भएका समूहमध्ये अधिकांश मधेश केन्द्रीत छन्।

मधेशमा अहिले पनि सक्रिय रहेको जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीका कार्यकर्ताहरुले गोइतलाई जानकारी नै नदिई सरकारी वार्ता टोलीसँग वार्ता गरेका छन्। गोइत समूहको नाममा पाँच जनाले छद्म नाम प्रयोग गरी सरकारी वार्ता टोलीसँग वार्ता गरेका छन्।

वार्ता टोलीको संयोजक अविनाश, सह संयोजक प्रदीप, सदस्यहरुमा भगत सिंह, रोशन र कमल जस्ता छद्म नाम प्रयोग गरिएको छ।

सरकारसँग आफ्नो संगठनले वार्ता नगरेको जनतान्त्रिकका संयोजक जयकृष्ण गोइतले बताएका छन्। आफ्नो संगठनको नाम प्रयोग गरी फर्जी व्यक्तिहरुले वार्ता गरेको हुन सक्ने अथवा सरकारी व्यक्तिहरुले नै वार्ता गरेको हुन सक्ने गोइतको प्रतिक्रिया छ। गोइतले यसअघि पनि आफ्नो संगठनका नाममा सरकारले केही व्यक्तिलाई खडा गरेर वार्ता गरेको उदहारण पनि सुनाए।

वार्ताको नाममा फर्जी व्यक्ति छुटाउन खोजे

सरकारी वार्ता समितिसँग वार्ता गरिरहेका कतिपय समूहले अन्य अपराधमा जेल परेका व्यक्तिहरुलाई आफ्नो संगठनको सदस्य भनी छुटाउन खोजेका छन्। कतिपय समूहले बुझाएको आफ्नो कार्यकर्ताको लिष्टमा अन्य अपराध कर्मका व्यक्तिहरुको नाम भेटिएपछि वार्ता समितिले मुद्दाको मिसिलसहित उपस्थित हुन आग्रह गरेको छ।

सरकारी वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डेका अनुसार सबै समूहलाई अहिले मिसिलसहित उपस्थित आग्रह गरिएको छ।

‘वार्तामा आएका समूहहरुले अन्य घटनामा मुछिएका व्यक्तिलाई नछुटाओस् भनेर हामीले अहिले मिसिलसहित उपस्थित हुन भनेका छौं।’ पाण्डेले भने,‘कुन केसमा कहिले र कसरी जेल परेको भन्ने सबै डिटेलका लागि मिसिल मागेका छौं। त्यो संगठन सक्रिय रहेको बेलाको गिरफितारी हो कि होइन? अरु कै केशमा परेकालाई छुटाउन खोजिएको भनेर बुझ्न मिसिल मागेका छौं।’

सरकारी वार्ता समितिले अहिलेसम्म वार्ता भएका विषयहरुलाई समेटेर आजदेखि रिपोर्ट लेख्न थालेको संयोजक पाण्डेले जानकारी दिए। पहिचानमा आएका ४ वटा समूहसँग वार्ता हुन बाँकी रहेको पाण्डेले बताए।

यसैबीच नेत्रविक्रम चन्द विप्लवसमूहसँग प्रारम्भिक छलफल भएपनि औपचारिक वार्ता हुन नसकेको पाण्डेले बताए।

http://www.pahilopost.com/content/20181102171831.html

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.