गजेन्द्रनारायण सिंहको १७ औं स्मृति दिवस: सद्भावना पार्टी नै समाप्त, सिंहको नाममा एनजीओ मात्र


बीपी साह

नेपाली राजनीतिमा मधेश राजनीतिलाई स्थापित गराउने व्यक्ति हुन् गजेन्द्रनारायण सिंह। नेपालमा सामुदायिक अथवा क्षेत्रीय राजनीतिलाई प्रवेश गराउने श्रेय पनि उनलाई नै जान्छ। सबैभन्दा महत्वपूर्ण उनको उपलब्धी भनेको संघीयता हो।

नेपाललाई संघीयतामा लैजानुपर्ने विचार सिंहकै थियो र त्यसका लागि उनले पार्टी नै स्थापना गरेर नेपाली राजनीतिमा आफ्नो स्थान बनाए। अहिले नेपाल आंशिक संघीयतामा गएको छ। समावेशी र मधेशका विषयलाई नेपाली राजनीतिमा स्थापित गराउने पनि सिंह नै हुन्।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय सिंहले नेपाली कांग्रेबाट अलग भई पूर्वाञ्चल कांग्रेस गठन गरेका थिए। २०४० सालपछि नेपाल सद्भावना परिषद् हुँदै उनले २०४७ साल वैसाख ३ गते नेपाल सद्भावना पार्टी गठन गरे। प्रजातान्त्रिक आन्दोलनदेखि नेपालका जनआन्दोलनमा पनि सद्भावना पार्टीको योगदान छ। सात दलीय गठबन्धनको एक हिस्सेदार सद्भावना पनि थियो।

तर, अहिले नेपाल सद्भावना पार्टी इतिहास मै सीमित भएको छ भने गजेन्द्रनारायण सिंहको योगदान गैरसरकारी संस्था(एनजीओ)मा सीमित भएको छ।

सिंहको जन्म सप्तरी जिल्लाको कोइलाडी गाविसमा पिता केपी सिंह तथा माता राधादेवी सिंहको दोश्रो सन्तानको रुपमा भएको थियो। गाउँकै विद्यालयमा प्रारम्भिक शिक्षा लिएका सिंहले भारतबाट म्याट्रिक परीक्षा पास गरेका थिए। उनले बनारसमा आइएमा नामांकन गराए पनि राजनीतिक सक्रियताका कारण उच्च शिक्षा अध्ययन गर्न सकेनन्।

नेपाल सद्भावना पार्टीका संस्थापक सदस्य देवेन्द्र मिश्रका अनुसार तत्कालीन समयमा भारतमा महात्मा गान्धीको स्वतन्त्रता आन्दोलन चल्दै थियो। उक्त आन्दोलनबाट प्रेरित भएका सिंहले राणा शासनको विरुद्ध सन् १९४७ मा नेपाल राष्ट्रिय कांग्रेसमा सक्रिय भएका थिए।

सन् १९४९ को सत्याग्रह आन्दोलनमा सहभागी भएका सिंह आफ्नै जिल्लामा जेल परेका थिए। सन् १९५० देखि ६० सम्म नेपाली कांग्रेसको जिल्ला अध्यक्ष रहेका सिंह १९६० देखि ७७ सम्म कांग्रेसको केन्द्रीय सदस्य रहे। २०३९ सालमा नेपाली कांग्रेस परित्याग गरी २०४० सालमा नेपाल सद्भावना परिषद गठन गरी २०४७ सालमा नेपाल सदभावना पार्टी बनाएका थिए। २०४२ सालमा राष्ट्रिय पंचायत सदस्य भएका सिंह २०४८ र २०५१ मा सांसदमा निर्वाचित भएका थिए। सिंहको निधन २०५८ माघ १० गते भएका थियो।

मिश्रका अनुसार २०३८ सालमा सूर्यबहादुर थापा प्रधानमन्त्री भएको बेला प्रधानमन्त्री कार्यालबाट डा. हर्कबहादुर गुरुङको संयोजकत्वमा बसाइ सराई आयोग बन्यो। उक्त आयोगले प्रधानमन्त्री कार्यालयमा प्रतिवेदन पेश गरेको थियो। प्रधानमन्त्री थापा र राजदरबारबीचको खटपटले गर्दा २०४० सालमा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएका थिए। चन्दको कार्यकालमा गुरुङको प्रतिवेदन सार्वजनिक भयो। उक्त प्रतिवेदन मधेश र मधेशी विरोधी भएको भन्दै विरोध भयो।

सद्भावनाको नामले राजविराज, वीरगंज, जनकपुर र काठमाडौं लगायत विभिन्न स्थानबाट राजालाई ज्ञापनपत्र बुझाइएको थियो। गजेन्द्रनारायण सिंह, रामजनम तिवारी, दिलीप सिंह, आस अंसारी, केशर यादव, विश्वनाथ सिंह र मिश्रलगायतका नेताहरु पक्राउ परी जेल चलान भएका थिए त्यही प्रकरणमा। त्यसपछि नै नेपाल सद्भावना परिषद् गठन भएको थियो जसको नेतृत्व सिंहले गरेका थिए। २०४० सालदेखि २०४७ सालसम्म परिषद् भूमिगत थियो।

२०४७ सालमा दर्ता भएको नेपाल सद्भावना पार्टीले काठमाडौंको भद्रकालीमा १५ दिने रिले अनशन गरेको थियो भने पहिलो आमसभा २०४७ साल मंसिरमा काठमाडौंकै टुँडिखेलमा गरेको थियो। उक्त आमसभा राज्यद्वारा विथोलिएको थियो भने मधेशी नेताहरुमाथि कुटपिट भएको थियो। जसको विरोधमा २०४७ माघमा सिंहदरबार अगाडि प्रदर्शन गर्दा पनि कुटपिट भएको थियो। जसमा संस्थापक नेता रामजनम तिवारीको हात भाँचिएको थियो। विभिन्न प्रदर्शन पश्चात मधेश र मधेशीमा लोकप्रिय बनेको सद्भावनाले २०४८ को निर्वाचनमा ७ सिट पाएर राष्ट्रिय पार्टी बनेको थियो।

सद्भावनाले संसदमा प्रवेश पाएसँगै धोतीकुर्ता, हिन्दी भाषाले पनि सदनमा प्रवेश पाएको थियो। तर, २०५१ को संसदीय निर्वाचनमा ७ बाट तीन सिटमा सद्भावना सीमित भएको थियो। र, त्यसपछि पार्टीमा फुट सुरु भयो।

पहिलो संविधानसभा अघि आधा दर्जन जति सद्भावना पार्टी थियो। तर, पछिल्लो संघीय र प्रदेशको निर्वाचन पछि एउटा पनि सद्भावना पार्टी कायम रहन सकेन। राजेन्द्र महतोले नेतृत्व गरेको सद्भावना पार्टी र अनिल झाले नेतृत्व गरेको नेपाल सद्भावना पार्टी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा विलय भइसकेको छ। अन्य केही व्यक्तिहरुले सद्भावनाको नाममा पार्टी खोले पनि सक्रिय देखिएको छैन।

अर्थात्, २०४७ सालमा संघीयता, समावेशी, मधेशको नागरिकता समस्या, मधेशको भाषा समस्यालगायतका विषयलाई उठाएर राजनीति सुरु गरेको नेपाल सद्भावना पार्टी अहिले इतिहासमा सीमित भएको छ। सद्भावनाले जन्माएका दर्जनौं नेताहरु अहिले विभिन्न पार्टीमा सक्रिय छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसमा पनि सद्भावनाबाट राजनीति सुरु गरेकाहरु पनि छन्। यसैगरी संघीय समाजवादी फोरम र राजपाका अधिकांश नेताहरु सद्भावना पार्टी र गजेन्द्रनारायण सिंहको विचार धाराबाट प्रेरित छन्।

गजेन्द्रनारायण सिंहको मधेशवाद विस्तार भएको छ तर उनको पार्टी विस्तार भएन। उनले सुरु गरेको संघीयताको बहस उनको मृत्यु प्रश्चात नेपालले पायो। तर, राज्यबाट सिंहले कुनै सम्मान पाउन सकेनन्। राज्यमात्र होइन उनले उत्पादन गरेका विचारबाट प्रेरित नेताहरु पनि उनलाई विर्सिँदै गएका छन्। उनका अधिकांश उत्तराधिकारीहरु राजपामा छन् तर यस पटक सिंहको १७ औं स्मृति दिवस राजपा कार्यालयमा मनाइएको छैन।

सिंहको नाममा राजपा नेताहरुले संचालन गरेको गैरसरकारी संस्थाले उनको स्मृति दिवस मनाएको छ।

http://www.pahilopost.com/content/20190124142614.html

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.