काठमाडौं, १३ वैशाख । कोरोना भाइरस संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिएका केही व्यक्तिमा औंलो अर्थात मलेरिया रोगको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नियमित गर्दै आएको मिडिया ब्रिफिङका क्रममा शनिबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले क्वारेन्टाइनमा रहेकाहरूमध्ये केहीमा औंलो देखिएको जानकारी दिएका हुन् ।

क्वारेन्टाइनमा रहेकाहरूलाई लामखुट्टेबाट जोगाउनका लागि आवश्यक व्यवस्था गर्न पनि सम्बन्धित सबैसँग प्रवक्ता देवकोटाले आग्रह गरेका छन् ।

गर्मी बढ्दै गएको तराईका जिल्लाहरूमा रहेका क्वारेन्टाइनमा झुलको व्यवस्था नगरिँदा कोरोना भाइरसको आशंकामा क्वारेन्टाइन बसेकाहरू अर्को रोगबाट ग्रसित हुने अवस्था आउन थालेको छ ।

शनिबारसम्म नेपालमा ४९ जनामा कारोना संक्रमण देखिएकोमा १२ जना उपचारपछि घर फर्किसकेको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल विराटनगरमा ३०, वीरगञ्जमा ५, भरतपुरमा १ र धनगढीमा १ जनाको उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.