काठमाडौं, २५ चैत । साउदी अरबमा कर्फ्यूको समयावधि २४ घण्टा पुर्‍याइएको छ ।

यसअघि गत मार्च २३ मा राति ७ बजेदेखि विहान ६ बजेसम्मका लागि आंशिक कर्फ्यू जारी गरिएको सोमबारदेखि २४ घण्टा नै पुर्‍याइएको हो ।

कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावित जोखिमलाई रोक्न साउदीको गृहमन्त्रालयले रियाद, दमाम, ताबुक, दहरान, हफुफ, ताइफ, कतिफ, अलखोबर र जेद्दाका सम्पूर्ण क्षेत्रमा अर्को सूचना नभएसम्मका लागि कर्फ्यूको समयावधि २४ घण्टा पुर्‍याइएको जनाएको छ ।

कर्फ्यू आदेश जारी गरेको रियादस्थित नेपाली दूतावासले यस क्षेत्रमा रहेका नेपालीहरूलाई घरबाहिर ननिस्कन अपिल गरेको छ । सरकारले तोकेका स्वास्थ्यसम्बन्धी अपवाद र स्थानीय अधिकारीहरूले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनैपनि बहानामा बाहिर ननिस्कन दूतावासले नेपालीहरूलाई अपिल गरेको हो ।

साउदी अरेबियाको आन्तरिक मामिला मन्त्रालयले पनि सैनिक अधिकारी र नागरिकलाई कर्फ्यूको पूर्ण पालना गर्न गराउन निर्देशन दिएको छ । कर्फ्यूको उल्लंघन गरेमा कडा कारबाही गरिने पनि मन्त्रालयले जनाएको छ ।

हालसम्म साउदी अरबमा २ हजार ५ सय ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ४ जना नेपाली नागरिक पनि रहेको दूतावासले जनाएको छ । साउदी अरबमा कोरोना भाइरसले ३८ जनाको ज्यान लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.