ललितपुर: मालाले कान्छो छोरा जन्माएको पाँच महिना भएको थियो । जेठो छोरा दुई वर्षका थिए । उनी सुत्केरी नै थिइन् । काठमाडौंको भिमसेनगोलामा सानो फलफूलको पसल थियो । श्रीमान् बाबुलाल साह त्यही पसल चलाउथे । उनी यतायता जाँदा काखमा छोरा बोकेर मालाले नै त्यो पसल हेर्थिन् ।

बाबुलाल र माला बाराको निजगढबाट काठमाडौंमा बस्ने रहरले राजधानी छिरेका थिए । १४ वर्षको कलिलो उमेरमै आमाबुबाले बिहे गरिदिएपछि मालाको संसार नै बाबुलाल थिए । बाबुलाल पनि निकै माया गर्थे मालालाई । पहिलोपटक श्रीमानसँगै काठमाडौं आएकी मालाको लागि काठमाडौं नितान्त नौंलो थियो । चिनेजानेका र आफन्तहरू थिए पनि धेरै थिएनन् ।

रहरलाग्दा दुई छोरा । माया गर्ने श्रीमान् । श्रीमान् श्रीमतीको मेहनतले सानो परिवार सुखैले बित्दै थिए दिनहरू । सायद उनीहरूको खुशीमा दैवको आँखा लाग्यो, भताभुङ्गै भयो मालाको सुखी परिवार ।

२०५७ सालमा एकदिन श्रीमान् कुनै कामले बाहिर गएका थिए । पसलमा माला नाबालक छोरासहित एक्लै थिइन् । एकजना अधवैंशे पुरुष ग्राहक आए । फलफूल किनेर गए । तिनै ग्राहक लगातार चार पाँच दिन फलफूल किन्न पसल आए । त्यही क्रममा उनले एकदिन मालालाई सिधै भने, ‘मैले तिमीलाई मन पराएँ । बिहे गर्न चाहान्छु ।’

मधेशी महिला माला उनको कुराले निकै डराइन् । दिमाग बिग्रिएको मान्छे हो कि भन्ने लाग्यो । ती मान्छे अर्को दिन पनि पसलमा आउछन् । फेरि त्यही कुरा दोहोर्याउछन् । माला अक्क न बक्क हुन्छिन् । अलि बढी नै डराएपछि श्रीमान्लाई भन्छिन् । श्रीमान् बालुलाल ती मान्छेलाई थर्काउन खोज्छन् । आफ्नो श्रीमती, आफ्ना दुई नाबालक छोराकी आमालाई यसो भन्न लाज लाग्दैन भन्छन् । तर ‘मुर्खका अघि दैव डराउछ’ भनेझैं ती व्यक्तिको धम्कीपूर्ण भाषा र प्रस्तूति देखेर बालुलाल पनि हच्किन्छन् । उनको केही सिप चल्दैन ।

अपरिचित व्यक्तिको लगातारको आगमन र धम्की सुनेर साह दम्पत्ति निकै डराउछन् । त्यो कुरा मालाका बुबा राजेन्द्र साहसंग भन्ने सल्लाह गर्छन् । मालाले गाउँमा रहेका बुबालाई फोन गर्छिन् । छोरीको कुरा सुनेर चकित भएका राजेन्द्र काठमाडौं पुग्छन् । ती व्यक्तिलाई सम्झाउछन् । रिसाउछन् । प्रहरीलाई खबर गर्ने धम्की दिन्छन् । तर पनि ती व्यक्तिलाई केही लाग्दैन । बरु आफ्नो नाम हेम खत्री भएको र नेपाल आर्मीमा कार्यरत रहेको भन्दै माओवादीको नाममा मारिदिने धम्की दिन्छन् । देशमा सशस्त्र द्वन्द्व चलिरहेको थियो । आर्मी, माओवादीको नाम सुनेपछि राजेन्द्रको पनि होसहवास उड्छ । अनि छोरी, ज्वाइँ र नातीहरूलाई आर्शीवाद दिएर राम्ररी बस्नु भन्दै रुँदै गाउँ फर्किन्छन् ।

राजेन्द्र गाउँका हुने खाने, सम्मानित व्यक्तित्व थिए । बिहीबार काठमाडौंबाट हिँडेका उनी शुक्रबार निजगढ पुगे । शुक्रबार राती दुई जना अपरिचित राजेन्द्रलाई बोलाउन आए । काम छ भन्दै घरबाट लिएर गए । नजिकैको खोलामा पुर्याएर टुक्रा टुक्रा बनाएर हत्या गरे ।

शनिबार बुबाको विभत्स हत्या बारे सुनेपछि बेहोस् बनेकी मालालाई घटनाको चौथो दिनमा आएर तिनै हेम खत्रीले भने, ‘देखिस् त तेरो बुबाको हालत । खुरुखुरु तेरो हात मलाई सुम्पेर गएको भए यो हालत हुन्थ्यो ?’ उनले बाबुलालले पनि धेरै कुरा गरे ससुराले जस्तै छोराहरूसहित अकालमा ज्यान गुमाउनु पर्ला भन्न थाले । पेस्तोल देखाएर ‘उडाउँ कि जान्छस्’ भने । बाबुलाल ज्यान जोगाउन काप्दै, रुँदै ‘अब म मालाजस्तो श्रीमती कहिल्यै पाउन्न । मेरा छोराहरूको कसरी माया मार्नु’ भन्दै आफ्नो भाग्य धिकार्दै डेराबाट भागे । अहिले उनी छन् कि छैनन् ? कहाँ छन् ? कस्तो अवस्थामा छन् केही थाहा छैन मालालाई ।

बाबुलाल डेराबाट भागेपछि हेमले नाबालक छोरासहित मालालाई कब्जामा लिएर काठमाडौंकै रातोपुलमा डेरामा राखे । आफू अविवाहित रहेको बताए । माला र छोरालाई माया गरेर राख्ने प्रतिवद्धता गरे ।

मालालाई धेरै दिनसम्म हेमको मायामा विशवास लागेन । आफ्नै जन्दिने बुबालाई विभत्स तरिकाले हत्या गर्ने र निकै माया गर्ने श्रीमान्लाई अलग गरिदिने व्यक्तिलाई चाँडै विश्वास पनि कसरी गर्नु ? तर जबदेखि उनलाई हेमले कब्जामा राखे, त्यही दिनबाट हो मालाले खुल्ला आकाश देख्न छोडेको । उही घरको चारभित्ता, छोराहरू र घरभित्रको काममै उनको दिन रात बित्न थाल्छ । कोठामा अरु कोही न त आउन पाउन, न त कसैसंग कुराकानी गर्ने छुट हुन्छ । एकपटक मालाको नाता पर्ने महिला डेरामा आएपछि हेमले मालालाई धम्काउन थाल्छन्, ‘यो महिलालाई छिटो पठाउछस् कि म कट्टु खोलेर नाङ्गै बस्दिम ?’ उनको यस्तो कुराले माला लज्जित हुन्छिन् । तत्कालै उनलाई बिदाई गर्छिन् ।

हेमले समाज राम्रो छैन । मैले तिमीलाई औधी माया गर्ने भएका कारण अरुसंग उठबस गर्न नदिएको भन्छन् । अरु महिला राम्रा छैनन् भन्दै यदि आफ्नो आदेश भन्दा बाहिर गएर कोहीसंग उठबस् र कुराकानी गरेको थाहा पाए आन्द्रा झिकेर राख्दिन्छु भन्दै साथमै बोकिरहने मसिनो, तिखो फलामको झिरजस्तो बस्तु देखाएर तर्साइरहन्छन् । अरु कोही व्यक्तिको नजिक नभएपछि मालालाई पनि हेमसंग नजिक नहुनुको विकल्प थिएन । उनी हेमका सबै कुरा मान्न बाध्य हुन्छिन् । हेमको नाटकीय प्रेमलाई साँच्चैको प्रेम ठान्न थाछिन् ।

अग्नीलाई साँक्षी राखी जुनीजुनी संगै बिताउने कसम खाएर बिहे भएको श्रीमान्बाट खोसेर ल्याउने व्यक्तिले तपाईंलाई साँच्चिकै माया गर्यो त ? यो प्रश्नले माला झस्किइन् । उनलाई लागेको रहेछ, हेमले साँच्चै माया गरेरै उनलाई खोसेर आफूसंग राखेका हुन् । बाँचुञ्जेल साथ दिन्छन् । बाह्य संसार देख्नबाट बञ्चित गरे पनि संसारको माया बटुलेर दिन्छन् । छोरा र आफ्नो आड भरोसा हुन्छन् ।

तर अहँ त्यसो रहेनछ । यो २१ वर्षको अवधिमा हेमले मालालाई मायाको नाममा के के मात्रै गरेनन् । घरमा प्रवेश भयो कि झम्टिहाल्थे मालालाई । उनको झम्टाई यस्तो हुन्थ्यो कि छोराहरू पनि लज्जित हुन्थे । दिउसोको समयमा हो भने कोठा छोडेर भाग्थे । राती हुँदा कान थुनेर बस्थे । अप्राकृतिक तरिकाबाट लामो समयसम्म हेम मालामाथि रजाइँ गर्थे । उनी पीडाले चिच्याउथिन् । तर केही सीप चल्थेन । जब हेम शान्त हुन्थे, माला हरेक पटक नयाँ जीवन बाँचेको महसूस गर्थिन् । तर उनलाई हेमले आफूमाथि चरम यौन हिंसा गरेको पत्तै भएन । उनी एउटा श्रीमान्ले श्रीमतीलाई गर्ने माया सोच्थिन् । र हेम जस्तो चाहान्छन्, त्यस्तै भइदिन्थिन् ।

हेममा यौन आशक्ती असाध्यै थियो । यतिसम्म कि कहिलेकाहिँ उनी कार चलाएर आउथे । राजधानीका कुनै एकान्त ठाउँमा लैजान्थे । र कारभित्रै अप्राकृति मैथुन गर्थे र गर्न लाउथे ।

माला मात्रै कहाँ हुन् र उनका दुई भाइ छोरा पनि हेमलाई बुबा सम्झेर अथाह सम्मान गर्थे । आमा छोरा हेमलाई कुर्सीमा राखेर कपडाले शरीर मिच्दै नहुाइदिने, तेलले मसाज गराइदिने गर्थे । आफू मोटो चामलको भात खान्थे, उनलाई मसिनो महङ्गो चामलको भात खुवाउथे ।
तर आमा छोराहरूको यति विघ्न माया, गुण र सम्मानले पनि हेमलाई भने पगाल्न सकेको रहेनछ । नेपाल आर्मीको उपल्लो तहमै कार्यरत उनले त्यो परिवारका लागि केही गरेनन्,–कहिलेकसो लुगाफाटो किन्नेबाहेक । मालाले नै माइतीको सहयोगमा दुवै छोरालाई ७ कक्षासम्म सरकारी स्कूल पढाइन् । त्यसपछि जेठो छोराले कुकको काम सिके । सानै उमेरमा काम गर्न थाले । त्यसले घर खर्च चल्न थाल्यो । अनि मलेसिया गए । तीन वर्ष काम गरेर फर्किए । फेरि अहिले कुबेत पुगेका छन् । कान्छो छोरा पनि क्रिकेटको कप्तान छन् ।

यसरी खुल्यो हेमको कर्तुत

करिब तीन वर्ष भो । माला कोठामा एक्लै थिइन् । भुइँमा खसेको एउटा कागज भेटिन् । त्यहाँ केही लेखिएको थियो । क नपढेकी उनलाई चाहिने कागज पो हो कि ! भन्ने लाग्यो । पल्लो कोठामा बस्ने व्यक्तिलाई देखाइन् । त्यसमा लेखिएको थियो–सरिता खत्री अर्थात हेमकी श्रीमती । घरको फोन नम्बर पनि । उनले पढेर सुनाएपछि मालाले टेकेको जमिन नै भाँसिएको मससूस गरिन् । बोल्नै सकिनन् । कागज पढ्ने मान्छेले सम्झाए । बरु त्यो नम्बरमा फोन गरेर सोधीखोजी गर्नुपर्छ भने । त्यो नम्बरमा फोन गरे । फोन उठ्यो । फोनमा युवती बोल्छिन् । को हो भन्दा हेम खत्रीको छोरी भनेपछि मालालाई पर्नुसम्म पीर पर्छ । त्यो कुरा छोरालाई सुनाउछिन् । उनीहरू पनि साहै्र चिन्तित हुन्छन् ।


मालाका जेठो छोरा विदेश जाने बेला हेम खत्री ।

हेम कोठामा आउछन् । मालाले सरिता खत्रीबारे सोधीखोजी गर्छिन् । उनले सत्य बोल्दैनन् । नानाथरी कुरा गरेर उम्किन खोज्छन् । मालालाई चित्त बुझ्दैन । हेम नभएको बेला उनको वास्तविकता बुझ्ने कोसिस जारी राख्छिन् । बुझ्दै खोज्दै जाँदा हेम पहिले नै विवाहित भएको । एक छोरा, एक छोरी रहेको र ललितपुरको भैंसेपाटीस्थित ग्रिनतारा कलेज नजिकै तिन तले घर भएको पत्ता लाग्छ ।

माला सोध्छिन्, ‘यस्तो किन ? तपाईंले मलाई त धोका दिनु भो नै । त्यो दिदी (हेमकी पहिलो श्रीमती) लाई पनि किन ? उहाँ पनि त आँखिर मजस्तै महिला हो’ भन्छिन् । हेमले घरकी श्रीमतीलाई चरित्रहिन भएको आरोप लगाउछन् । छोराछोरी र समाजका लागि मात्रै सम्बन्ध कायम रहेको भन्दै उनीसंग आफू सन्तुष्ट नभएकाले तिमीलाई बिहे गरेको भन्छन् । अनेक वाचा कसम खान्छन् । राती जेठी श्रीमतीकोमा जाने र दिउसो यतै आउने बताउछन् । मालाको केही लाग्दैन । उनलाई श्रीमानै ठानेर बस्छिन् ।

१२ वर्ष अघि माला गर्भवती भइन् । त्यो कुरा हेमले थाहा पाए । अनि तिमीलाई कुनै रोग छ कि, चेकजाँच गर्न जाऔं भन्दै रक्सौल लिएर गएँ । उनको चेकजाँच गरियो । चेकजाँचकै क्रममा मालालाई बेहास् गरिएछ । होस आउदा त योनीबाट रगत बगिरहेको थियो । उनले नर्शलाई सोथिन् । नर्शले ‘तपार्ईंको पेटमा चार महिनाको गर्भ थियो । तपाईंको श्रीमान्ले फाल्दिनुस् भनेपछि सफा गर्दियौं’ भने । माला असाध्यै रोइन् । कराइन् । हेमले दुई छोरा छँदैछन् । यिनैलाई मैले सन्तान मानेको छु । किन अर्को सन्तान चाहियो । मलाई यिनैले काजकिरिया गर्छन् भने । आफूले त्यसबेला पनि चित्त बुझाएको मालाले बताइन् ।

दुई वर्ष अघि हेमकी छोरीको बिहे हुने भो । जागिर गइसकेपछि (सहायक रथी पदमा पुगेका बेला हेम खत्रीले पाकिस्तानमा संचालित National Security and War Course (NSWC) तालिममा सहभागी हुन स्नातक तह उत्र्तिण गरेको भनी भारतको मगद्य विश्वविद्यालयको नामको नक्कली मार्कसिट र प्रमाण पत्र पेश गरी सोही आधारमा पाकिस्तानमा संचालित NSWC तालिम गरेको प्रमाणित भएपछि उनलाई सैनिक ऐन, २०६३ को दफा ५५ को खण्ड (घ) को कसुरमा ऐ.ऐनको दफा १०१ को उपदफा (१) को खण्ड (घ) अनुसार फैसला भएको मिति २०७० कार्तिक २७ गतेबाट लागु हुने गरी भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको थियो । https://www.nepalarmy.mil.np/press-release/511_)घरमा पैंसा नभएको र लाज बचाउने भन्दै हेमले मालासंग पैंसा माग्छन् । पैंसा भएपछि त्यो पैंसा फिर्ता गर्छु भन्छन् । हेमको कुरालाई उनले नाइँ भन्न सकिदनन् । माइतीको पेवा र छोराले कमाएको ८ लाख रुपैंया मालाले हेमलाई दिइन् ।

त्यसपछिका दिनमा हेमले मालालाई झन् धेरै माया गरेको देखाए । जे हुनु भइहाल्यो । अब बोलेर केही काम छैन । म दुवै परिवारलाई मिलाएर राख्छु भन्दै हेम विस्वस्त पार्छन् । छोराहरू पनि उनको कुरा नकार्न सक्दैनन् ।

गएको असोज १५ गते हेम भारतमा सुगरको औषधि गर्न जाने बताउछन् । दशैंको बेला घरमा चोरी हुन सक्ने भन्दै घरमा भएको सुन बैंकमा राखेर राखेर जाने र उपचार खर्चका लागि अलिकति पैंसा चाहिने बताउछन् । मालाले दुई तोला पाँच लाल सुन बेचेर १ लाख २० हजार हेमलाई दिन्छिन् र बाँकी १६ तोला सुन बैंकमा राख्न भन्दै हेमलाई दिन्छिन् । उपचारका लागि भारत जान्छु भनेका हेमको मोबाइल अफ हुन्छ । दिन, हप्ता, महिना बित्छ उनी सम्पर्कमा आउँदैनन् । भैंसेपाटीको घरमा पनि मालालाई जान दिँइदैन । सम्पर्क हुँदैन । उनी बेखबर हुन्छन् ।

घटनाक्रम मालाले छिमेकी, आफन्त सबैलाई बताउछिन् । हेमले माला र छोराहरूलाई धोका दिएको बारे थाहा हुन्छ । सबैले न्यायका लागि अघि बढ्ने सल्लाह दिन्छन् । मालाले गौशाला प्रहरी, जावलाखेल प्रहरी र राष्ट्रिय महिला आयोगमा निवेदन दिएकी छन् । तर प्रहरीबाट हेमलाई खोज्ने, बोलाउने कुनै पहल भएको छैन ।

मालालाई यतिबेला कलेजोमा पथ्थरी देखिएको छ । अस्पतालले चाँडै अपरेशन गर्नुपर्छ भनेको छ । उनलाई बोल्न पनि समस्या भइरहेको छ । भएको जायजेथा सबै हेमले लुटेर लगेपछि उपचार गर्ने पैंसा पनि नभएको बताइन् ।

मालासंग पहिलो श्रीमान् बालुलालको नामको नागरिकता थियो । हेमले केही वर्ष अघि त्यो नागरिकता च्यातेर फालिदिए । पहिलेको श्रीमान्को नागरिकताले के गर्नु र भन्दै आफ्नो नामबाट नागरिकता बनाइदिने बताए । तर नियतमै खोट भएका हेमले नागरिकता किन बनाइदिन्थे र ? – महिलाखबरबाट


अहिले मालाकाे लागि संघर्ष

हेमा श्रेष्ठ – 

माला दिदी अन्यायमा पर्नु भएको थियो। उहाँलाई न्याय चाहिएको छ। माला दिदी श्रीमानलाई भेटन जाँदा म लगायत अरुलाई पनि लिएर जानु भएको थियो ।

छोरीको बिहेको लागि खर्च चाहिएको भन्दै दिदीको श्रीमान (हेम खत्री) ले उहाँको ८ लाख रुपैयाँ र १६ तोला लिनु भएको छ। तर अहिले आएर खत्रीले माला दिदीलाई श्रीमती नभएको बताउँदै आइरहनु भएको छ।

हामी दिदीको श्रीमानलाई भेट्न गएका थियौँ। एउटा श्रीमतीले आफ्नो श्रीमानलाई भेट्न पाउँदैनन् र? फेरि हामी कुनै आन्दोलनकारी पनि होइनौँ। आन्दोलन गर्न पनि गएका थिएनौँ। खत्रीको घरमा हामी कुरा गर्न मात्र गर्न गएका थियौँ।

सुरुमा त हामी घर भित्र पनि पसेका थिएनौँ। हामी बाहिरै बसिरहेका थियौँ। हामीसँग सँगै पत्रकारहरु पनि पुगिसकेका थिए। हामी तीन जना महिला मात्र थियौँ। तपाईँहरुले देख्नु भएको भिडियोको भिड जम्मा भएका मानिसहरुको हो। उनीहरुलाई हामीले बोलाएका थिएनौँ।

हामी त्यहाँ पुगेको केही मिनेट भित्रमै पुलिसको भ्यान आइपुग्यो। पुलिस पुगेको देखेर हामी खुसी भयौँ। पुलिसको मद्दतले हामीलाई कुरा गर्न र भेट्न झन सजिलो हुने भयो। पुलिसले भ्यान खत्रीको घरको गेट खोलेर सिधै भित्र लग्यो। हामीलाई मात्र बोलाएर पुलिसले ढोका बन्द गर्‍यो।

इन्स्पेक्टर साबले हामीलाई आफूहरु हेम खत्रीलाई प्रहरी चौकी लिन आएको बताउनुभयो। अनि हामी झन खुशी भयौँ। धेरै दिनसम्म हामीले गर्न नसकेको काम प्रहरीले एक छिनमा गरिदिने भयो। म कुर्सीमा बसिरहेकी थिएँ। मेरा काखमा १० महिनाको नानी सुतिरहेको थियो।

म त केही बोलेकी पनि थिइन। घरमा कुनै तोडफोड पनि भएको छैन। तोडफोड गर्ने सोचले गएको भए म १० महिनाको नानी काखी च्यापेर अनि ३२ महिनाको छोरी हातले डोर्‍याउँदै त्यहाँ जादिनथेँ होला नि। मलाई के मेरो बच्चाको माया लाग्दैन होला र?

हामीले हल्ला पनि गरेका थिएनौँ। पत्रकारले नदेखून् भनेर होला ढोका लाउनु भएको पनि। कुर्सीमा बसिरहेकी ममाथि लाठी चार्ज भयो। खत्रीको घरमा पुगेकामध्ये मलाई मात्रै लाठी लगाउनु भनेर प्रहरीलाई गृह मन्त्रालयले आदेश दिएको थियो र? मलाई मात्र पिटियो। अरु प्रहरीले पिटेका छैनन् है फेरि, मात्रै इन्स्पेक्टरले मलाई पिटेको हो। काखमा सुतिरहेको बच्चा समातेर भागेको भिडियो त तपाईँहरुले पनि त देख्नु भयो होला नि। इन्स्पेक्टर जस्तो व्यक्तिले त्यसरी पिट्न मिल्छ? त्यो पनि सानो बच्चा बोकेकी महिलालाई?

नानी काखमा सुतिरहेकाले च्यापेर भागेँ तर ३२ महिनाकी छोरीलाई हातले तान्दातान्दै पछाडि नै छुटेकी छ। मेरो काखको बच्चा हातबाट खसेर भुईँमा बज्जारिएको भए? प्रहरी यसको जिम्मेवार हुन्थ्यो?

मलाई मात्र पिट्नुको मुख्य कारण के हो? किन अरुलाई पिटिएन। हामी त तीन जना गएका थियौँ नि कुरा गर्न त।

फेरि म केही बोलेकी पनि थिइन्।

(प्रहरीबाट बच्चा बोकिरहेका बेला प्रहरीको लाठीले लगातार कुटाइ खाएकी हेमा श्रेष्ठसँग देश सञ्चारले गरेको कुराकानीमा आधारित।)

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.