काठमाडौँमा कुटिएका यादवका लागि न्याय माग्दै प्रदर्शन

हुलाकी न्यूज काठमाडौँ : काठमाडौँको बसुन्धारामा कुटिएका हरिराम यादवका लागि न्याय माग्दै काठमाडौँमा प्रदर्शन भएको छ ।

डा.सीके राउत नेतृत्वको जनमत पार्टीका भातृ सङ्गठनहरू विद्यार्थी जनमत सङ्घ र युवा जनमत सङ्घले संयुक्त रूपमा प्रदर्शन गरेको छ।

काठमाडौँको माइतीघर मण्डलमा मङ्गलवार भएको प्रदर्शनमा रंगका आधारमा मधेशीमाथि भएको विभेद समाप्त पार्न र यादवलाई न्याय दिन माग गरिएको छ।

प्रदर्शनमा सहभागीहरूले विभिन्न प्लेकार्ड बोकी न्यायको माग गरेका थिए।

त्यसअघि विद्यार्थी जनमत संघसहित जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले मधेसी आयोगलाई ज्ञापन पत्र बुझाएको थियो।

ज्ञापन पत्र

श्रीमान् अध्यक्ष ज्यू,
मधेसी आयोगको कार्यालय, काठमान्डु।
विषयः ज्ञापन पत्र ।
महोदय,
प्रस्तुत विषयमा मिति २०७६ जेठ १० गते शनिवारको दिन काठमाण्डुको वसुन्धरामा मोबाइल पसल गरी जीवन यापन गरिरहेका महोत्तरी निवासी हरिराम यादवमाथि सोही राती करिब ९ बजेको समयमा निज पीडÞित यादवलाई देशी, धोती, इण्डियन,विहारी, काले, चटपटे जस्ता तथानाम साम्प्रदायिक गाली गलौज र अपशब्दहरू प्रयोग गर्दै रड सहित तीन जनाको समूहमा आएका पहाडी मूलका व्यक्तिहरूको समूहले उनको पसलमा एक्कासि उनको टाउकोमा आक्रमण गरी सख्त घाइते बनाएका कुरा सञ्चार क्षेत्र लगायत फेसबुक सामाजिक सञ्जालहरू समेतमा भाइरल भई सकेको कुरा जानकारी गराउन चाहन्छौँ ।

त्यसरी एउटा मोबाइल पसल थापी सामान्य रूपमा जीवन धानिरहेका मधेसी मूलका नेपालीमाथि पहाडी मूलका गुन्डा र बदमासहरूद्वारा देशको राजधानी काठमान्डु समेतमा बर्बर आक्रमण हुनु सामान्य घटना हुनै सक्दैन । यस्ता घटनाले मधेसी र पहाड़ीबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर परी देशले असामान्य परिस्थितिको सामना समेत गर्नुपर्ने अवस्था आउन सक्ने सम्भावनालाई इन्कार गर्न सकिन्न ।

काठमाडौँ जस्तो देशकै राजधानीमा मधेशीमाथि भएको यो पहिलो घटना नभ ई बारम्बार यस्ता घटना घटिसकेको र घटिरहेको कुरा यहाँ समेतलाई अवगत छ । यस परिस्थितिमा काठमान्डु तथा देशका अन्य भाग र क्षेत्र समेतमा मधेसी लगायत अन्य कुनै पनि तह, तप्का, क्षेत्र वा समुदायका व्यक्ति वा समूहमाथि कुनै किसिमको शारीरिक, मानसिक, साम्प्रदायिक वा शाब्दिक आक्रमण हुनु मानवता र राष्ट्रियता समेतको विरोधी कार्य रहेको हुँदा त्यस्ता अपराधपूर्ण कार्यहरूलाई दुरुत्साहित तुल्याउन राज्य र राज्यका सुरक्षा निकायहरूले अविलम्ब पहल थाल्नु पर्दछ ।

यसै सन्दर्भमा जेठ १० गते राती वसुन्धरामा महोत्तरीका श्री हरिराम यादवमाथि गरिएको सांघातिक आक्रमणको घोर निन्दा गर्दै आक्रमणकारी व्यक्ति वा समूहको यथाशीघ्र छानबिन गरी दोषीमाथि कानुनी कार्यवाही चलाउन र घाइते श्री यादवको उचित उपचार गरी क्षतिपूर्ति समेतको व्यवस्था मिलाउन हुन नेपाल सरकार, मधेसी आयोग, सुरक्षा निकाय, काठमाडौँ महानगरपालिका लगायत सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूमा विद्यार्थी जनमत सङ्घले हार्दिक निवेदन साथ जोडदार माग गर्दछौ ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.