ऋतिक रोशन काण्ड भएको आज १९ वर्ष पुरा भएको छ। विस २०५७ साल पुस ११ गते याे काण्ड भएको थियो।  डा. सीके राउतको आत्मकथा ‘वैराग्यदेखि बचावसम्म’ पुस्तकबाट त्याे घटनाकाे सम्झना

डा. सीके राउत

ऋतिक रोशन काण्ड हुँदा म इन्जिनियरिङको अन्तिम वर्षमा पढ्दै थिएँ।

त्यस क्रममा भएको अनियन्त्रित व्यापक रंगभेदी आक्रमणले मेरो जीवनमा पीडादायक घाउ छोडेर गएको थियो, र मानवतामाथिको मेरो आस्था डगमगाएको थियो। सडकमा दङ्गा शांत भइसकेको थियो, तर त्योभन्दा उग्र दङ्गा मान्छेको मन भित्र पैदा भएको थियो।

मानव स्वभावका बारेमा त्यस घटनाले मेरो मष्तिष्कमा प्रगाढ संशय पैदा गरिदिएको थियो, र मित्रतामाथिको मेरो विश्वास चकनाचुर। आखिर मान्छे पहिला पशु नै हुँदा रहेछन्, मैले केवल त्यही निचोड निकाल्न सकें। कुनै गोहीको मुखबाट बचेर भागेको घायल प्राणी जस्तै म अनुभव गर्थें। त्यस घटना पश्चात् — दोस्त हुन् वा दुश्मन — मानवबाट मलाई डर लाग्थ्यो, र त्यही भएर म आफूलाई एकान्तमा डुबाएँ।

हावामा फोकाहरू उठे झैं मेरो मन भित्र अनेकौं प्रश्नहरू एक साथ उब्जिन्थे, र उत्तरित हुन नपाउँदै फेरि बिलाउँथे। अचल पलकहीन नयनहरूअगाडि प्रश्नहरू सरर आउने गर्थे। तिनीहरूले मलाई दिनरात घेरिरहन्थे। कुनै अर्को देशमा कुनै ठिटोले नेपालका बारेमा केही बोल्यो अरे भन्दैमा त्यसको लागि मधेशीहरू किन जिम्मेवार हुनु पर्ने, त्यसको लागि मधेशीहरू किन पिटिनु पर्ने, त्यसको लागि मधेशीहरूको घर र पसल किन जलाइनु पर्ने, त्यसको लागि मधेशीहरूको नागरिकता किन च्यातिएर फालिनु पर्ने आदि प्रश्नहरूको ताँती लागिरहन्थ्यो। वाणीहीन, म एकान्तसँग सान्त्वना माँगिरहन्थें।

पछि महेश र बसन्तले मधेशका स्थानीय पत्रपत्रिकाहरूमा छापेका समाचारहरूको कटिङ्ग संकलन गरेर ल्याइदिएका थिए। तिनीहरू पढ्दा मन झनै टुटेर आयो। राष्ट्रिय भनाउँदा काठमाडौंका पत्र-पत्रिका र मिडियाहरूले मधेशीहरूमाथि भएको व्यापक आक्रमणको समाचार दिएकै रहेनछ भन्ने देखियो। तिनीहरूले सत्यलाई ढाक्न हरसम्भव प्रयास गरेका थिए। बसन्त, महेश र अन्य साथीहरूले मैले ऋतिक रोशन काण्डको विषयमा किताब लेखूँ भनेर चाहेका थिए र त्यही भएर नै तिनीहरूले सबै समाचार र फोटोहरू संकलन गर्दै दिइरहेका थिए। मलाई चाहिँ कहिले लेखूँ जस्तो लाग्थ्यो त कहिले फेरि पछि हट्थें।

सोच्थें, मलाई त पूरा विश्वको बारेमा सोच्नुपर्ने, जीव र जीवनको बारेमा सोच्नु पर्ने, आत्मा र परमात्माको बारेमा सोच्नु पर्ने, मानव र मानवताको बारेमा सोच्नुपर्ने, म कसरी मधेशीहरूको बारेमा सोचूँ? त्यसो गरेर म संकीर्ण मानसिकतामा बाँच्न खोजिरहेको त छैन? मलाई त धेरैले समदर्शी भन्छन्, आध्यात्मिक गुरुका रूपमा मान्छन्, म कसरी मधेशीहरूको मुद्दा लिएर अघि बढूँ, कसरी मधेशीको लागि आवाज उठाऊँ? म कसरी आफूलाई मधेशी मानूँ? तर फेरि त्यहीं अर्को कुरा पनि उठ्थ्यो। यदि महात्मा बुद्धलाई ‘कहाँबाट आएको तथागत?’ भनेर सोध्दा उनले मध्यदेशबाट आएको भनेर परिचय दिन्छन्, आफू मधेशी भएको परिचय दिन्छन् भने मलाई मधेशीको परिचय किन बोझ? के म बुद्धभन्दा ठूलो समदर्शी बन्न पुगेको छु?

घटनापछि कलेज खुल्दा वातावरण सामान्य थिएन। पहाडी विद्यार्थीहरू अझै मधेशीमाथि आक्रमण गर्ने गर्थे। केही केसहरू कलेज प्रशासनसम्म पुगेको कुरा पनि सुनें। तर प्राय: मधेशीहरूले आफूमाथि भएको आक्रमण वा भेदभावको कुरा प्रशासनसम्म लैजाँदैनथे, त्यसो गर्नु भनेको आफ्नै भविष्यलाई अन्धकारमा धकेल्नु नै थियो। आखिर प्रशासन पनि त ती पहाडीहरूकै थियो, र तिनीहरूको रबैया पनि त त्यही नै थियो।

मेरो क्लासमै पनि सहपाठीहरू अझ उदण्ड भएका थिए र दुर्व्यवहार गर्ने क्रम बढ्दो थियो। त्यही साथीहरू जोसँग म रात-दिन बस्थें शैतान भएर प्रकट हुन थालेका थिए। एक दिन क्लास जाने क्रममा भर्‍याङ्गमै मेरा केही सहपाठीहरूले मलाई घेरे, र नानाथरी रंगभेदी गालीहरू गर्दै, नारा लगाउँदै अपमान गर्न थाले। चारैतिरबाट तिनीहरूले घेरेकाले म उम्केर भाग्नै सकिनँ, भाग्न खोज्दा समातेर फेरि घेरिहाल्थे। तिनीहरू तिनै साथी थिए जो मसँग क्यान्टिन, लाइब्रेरी र क्लासमा एउटै टेबलमा वा सँगै बस्ने गर्थे।

पछाडिबाट केटीहरूको समूह आएपछि तिनीहरूले बाटो छोड्दा मात्र म त्यहाँबाट उम्कन सकेको थिएँ। म भागेर सीधै क्लास गएँ। ती केटीहरू मेरा जुनियर थिइन् र मलाई चिन्थिन्। तिनीमध्ये एक त हाम्रो क्लासरूमसम्मै हेर्न आएकी थिई, शायद मेरो प्रतिक्रिया के छ भनेर। म शून्य मष्तिष्क र क्षुब्ध अनुहार लिएर प्रथम बेन्चमै बस्न पुगेको थिएँ, तिनलाई देख्नासाथ सामान्य हुने कोशिस गरें।

दु:ख लाग्दो कुरा के थियो भने त्यस रंगभेदी आक्रमणहरूमा विद्यार्थीहरू एक्लै थिएनन्। ऋतिक रोशन घटना पश्चात् एक जना प्रोफेसरले मतिर इंगित गर्दै भनिन् — ‘यी धोतीहरूले हाम्रा अपरचूनिटी खोसेर लिन्छन्, हुँदा-हुँदा त कलेजमा समेत आएर टप गर्छन्।’ उनको कुरा सुनेर म चकित भएँ। ती शब्दहरू हामीलाई ज्ञान दिने भलाद्मी प्रोफेसरबाट आइरहेको थियो, सीधै ममाथि लक्षित थियो, र अझ त्यो पनि पूरै क्लासअगाडि भनिएको थियो। त्यो सुनेर पूरै क्लास हाँसोले भरिएको थियो, त्यतिबेला मैले केही सोच्न सकिनँ र आफ्नो शिर बेन्चतिर निहुराएँ।

त्यो हाँसोको गुञ्जाइ आज पनि राम्ररी सम्झन्छु म। पछि कहिलेकाहीं लाग्थ्यो — म पनि सुभाष चन्द्र बोस जस्तै त्यसको प्रत्युत्तर दिए हुन्थ्यो भनेर, तर बुवासँग गरेको वाचा र आफ्नो भविष्यको बारेमा सोच्दा संयमता देखाएर कुनै गल्ती गरेको जस्तो लाग्दैनथ्यो। तैपनि केही नगरेकोमा बिझ्थ्यो अवश्य। त्यस्तै एक अर्का प्रोफेसर पनि थिए जो क्लासअगाडि नै आमाकै नाउँमा गाली गर्थे। म सोच्थें, यदि हाम्रा प्रबुद्ध प्रोफेसरहरू, देशका श्रेष्ठ शिक्षित वर्गहरू, मधेशीका बारेमा यसरी सोच्छन्, उनीहरूसँग यसरी रंगभेदी दुर्व्यवहार गर्छन् भने अरूबाट के आशा गर्न सकिन्छ? त्यसले शिक्षामाथिको मेरो आस्थामाथि पनि प्रश्न चिन्ह खडा गर्थ्यो। लाग्थ्यो, शिक्षाले आजकल डाक्टर, इन्जिनियर, मेकानिक र कारीगर मात्र बनाउन सक्छन्, असल मानव होइन।

कलेज प्रशासन र प्रोफेसरहरूले विद्यार्थीलाई मात्र हैन, कर्मचारीहरूलाई पनि आफ्नो शिकार बनाएका थिए। हाम्रो डिपार्टमेन्टमा एक जना निकै नै मिहिनेती मधेशी स्टाफ थियो, चौधरी भन्ने। मैले निकै नै आदर गर्ने एक जना प्रोफेसर ऊमाथि एक दिन निकै नै रिसाउनु भएछ। शायद चौधरीको साइकिल र सरको गाडी पार्किंग गर्ने कुरामा केही यताउता भएको रहेछ। सरले त चौधरीलाई झन्डै कुट्न लाग्नुभएको थियो। उहाँलाई अरु सर र स्टाफहरूले घेर्दै बेस्सरी तानेर अलग लग्दै थिए, छोडिदिन आग्रह गर्दै थिए। हातखुट्टा अरूले समाते पनि उहाँ चाहिं नानाथरी गाली गर्दै हुनुहुन्थ्यो। केही विद्यार्थीहरू पनि त्यहाँ मौजूद थिए र निकै नै हिंषात्मक रूपमा प्रकट भएको सरलाई हेर्दै थिए। सरको आवाज मेरो कानमा पछिसम्म गुञ्जिरहन्थ्यो — ‘धोती, साले मर्स्या, फाल्दिन्छु, हेर्ने हो मेरो पावर?’

त्यस किसिमका दुर्व्यवहार जहाँतहीँ भइरहँदा कलेजको जीवन पछिल्ला दिनहरूमा पटक्कै रमाइलो थिएन। अन्तिम वर्षभरि म लो-प्रोफाइल मै बसें, कमै देखिन्थें, कमै बोल्थें, कतै जान्नथें। कहिलेकाहीं भावनाको आवेगमा पनि आउँथें। त्यति बेला म कोठामा एक्लै बस्थें, मेरो रूममेट आफ्नो परिवारसँग बाहिरै बस्न थालेको थियो। कहिलेकाहीं त्यही पुराना साथीहरूसँग बस्ने कोशिस गर्थें, तर दङ्गा ताका मैले देखेको तिनीहरूको कुपित अनुहार र दानवातार सम्झँदा बिझ्थ्यो। म आफ्नो ढोका प्राय: छेस्किनी लगाएर बन्द नै राख्थें।

भित्र-भित्रै म ती अपमान, दुर्व्यवहार, आक्रमण र भेदभावको आगोमा उम्लिन्थें, मन हिंषात्मक नै हुन्थ्यो। तैपनि बाहिर शान्त देखिने मेरो बाध्यता थियो। त्यही नै मबाट अपेक्षा गरिन्थ्यो। साथीहरूले सँधैं भन्ने गर्थे — ‘सीके त विशाल समुद्र हो, उसलाई कहाँ व्यग्र पार्न सकिन्छ र?’ र म तिनीहरूको अपेक्षा अनुरूप बाँच्न बाध्य थिएँ, उनीहरूले भिडाएको महानताको ताज बचाउन। मेरो यही द्विविधा कलेजको पत्र लेखन प्रतियोगिताको लागि लेखिएको ‘शान्तिका अग्रदूत गौतम बुद्धलाई एक पत्र’ मा पनि देख्न सकिन्छ, जुन पत्र प्रथम पुरस्कार पनि जित्न सफल भएको थियो (हेर्नुस्, परिशिष्ट क)। ती द्विविधाहरू ऋतिक रोशन काण्डपछि हट्दै गएको थियो, र त्यही भएर पछि मैले ‘तब बुद्ध बन्दुक उठाने पर मजबूर हो जाते हैं’ कविता लेखेको थिएँ।

ऋतिक रोशन घटना पूर्व पनि म पहाडी साथीहरूसँग बिरलै फरक मत राख्न सक्थें, तर त्यसपछि त उनीहरूको हरेक कुरामा सहमत हुनु मेरो बाध्यता नै थियो, र त्यो उनीहरू प्रति आफ्नो वफादारी साबित गर्ने र आफू नेपाली भएको दाबी गर्ने आधार नै। कहिले फरक कुरा भनेमा ‘आखिर जात देखाइहाल्यो’ भनेर तिनीहरूले भन्थे।

साथीहरूले पर्दापछाडि के कुरा गर्थे र के-कस्ता योजना बनाउँथे, मैले त्यति मतलब राखिनँ। तर तिनीहरूको योजना कहिलेकाहीं बाहिर आउँथ्यो अवश्य। लगातार कलेजमा टप गरिरहँदा शायद म उनीहरूको आँखामा बिझ्थे र मलाई सफाया गर्न तिनीहरूले एकपछि अर्को योजना बनाउँथे। त्यसमा मलाई सबभन्दा रोचक, र हास्यास्पद, पिकनिक वा घुम्न जाँदा मलाई फकाएर बसको हुडमा चढ्न लाउने र पहाडी चट्टाननिर त्यहींबाट धकेल्ने भन्ने योजना लागेको थियो।

छात्रावासमा पनि व्यवस्थापनका समस्याहरूमाथि बहस गर्न अनौपचारिक बैठकहरू भइरहन्थे। म छात्राबास प्रशासनको हिस्सा नभए पनि म नजिकै भएको खण्डमा साथीहरूले मलाई त्यसमा सामेल हुन दिन्थे, कहिलेकाहीं त बोलाउँथे पनि। ऋतिक रोशन घटनापछि प्रशासनमा विद्यार्थी प्रतिनिधि रहेका मेरा एक मित्रले एक पटक प्रस्ताव राखेछन् — ‘सबै मधेशीलाई हिटलरले यहूदीलाई खतम पारें झैं च्याम्बरमा जलाएर सिध्याउनु पर्छ।’

सायद उसले ख्याल गरेनन् म त्यहाँ बैठकमा थिएँ भनेर वा उनले त्यो प्रस्तावमा कुनै गल्ती देखेनन्। छात्राबासको वार्डेनको पनि त्यस किसिमका ‘सफाइ’ अभियानमा निकै नै समर्थन रहन्थ्यो। छात्राबासको वरान्डामा वार्डेन आफ्ना स्टाफ लिएर सैनिक मार्च गरे झैं हिँड्थे। वार्डेन, गार्ड र पहाडी विद्यार्थी प्रतिनिधिहरू ‘मधेशीहरूलाई सबक सिकाउने र तिनीहरूको वास्तविक घर देखाएरै छाड्ने’ अभियानमा राम्ररी नै जुटेका थिए।

स्नातकको अन्तिमतिर म निरन्तरको अन्तर्द्वन्द्व पिल्सेर बाँचिरहें, यतिसम्म कि, लाग्थ्यो जीवन केवल अन्तर्द्वन्दहरूको श्रृङ्खला हो, र मानौं अन्तर्द्वन्द सकेपछि जीवनको अस्तित्व पनि मेटिएर जानेछ। निमिष भरिको पनि शान्ति पाउने अभिलाषामा छतमा गएर म सगरको विस्तृणतालाई घंटौंसम्म नियाल्थें, सेता बादलहरूले आफ्नो कला देखाउँदै बनाउँदै गरेका आकृतिहरूमा हराउँथें, प्रोफेट र गीताञ्जलीका शब्दहरूमा घोत्लिन्थें।

म अधिकांश पहाडी साथीहरूसँग टाढिन पुगेको थिएँ। ती साथीहरू जसले कुनै दिन मसँग एक तस्वीर खिचाउन पाउँदा गौरवको अनुभूति गर्थे, ती साथीहरू जो म विना क्यान्टिन वा लाइब्रेरी जाँदैनथे, तिनै साथीहरूले अरू सहपाठीहरूलाई आफ्नो घर बोलाउँदा मलाई बोलाउने चेष्टा गरेनन्। तैपनि मैले सोचें यो उनीहरूको व्यक्तिगत कुरा हो र ध्यान दिइनँ। हुन सक्छ, तिनीहरूले मेरो भलाइका लागि नै मलाई नबोलाएको होस्। किनकि मधेशीहरू कुनै पहाडीको घरमा निम्तोमै जाँदा पनि अपमान र दुर्व्यवहारको शिकार हुनुपर्थ्यो, र मेरा प्यारा साथीहरूले, हुनसक्छ, त्यसबाट बचाउन मलाई बोलाएनन्।

पहाडी कर्मचारीहरूले आफ्ना मधेशी हाकिमलाई घर बोलाउँदा हाकिम अपमानित हुनु परेका कैयन् घटनाहरू मैले सुनेको थिएँ। कर्मचारीले हाकिमको परिचय दिनु अगावै मधेशी हाकिमको छालाको रंग देखेर नै त्यहाँ भएकाहरूले अपमान र दुर्व्यवहार गरिसकेका हुन्थे, रोक्न पनि कतिलाई रोक्नु? त्यही भएर घर नबोलाएर मेरा मित्रहरूले ममाथि उपकार नै गरेको ठानें।

स्नातकको पढाइ सकिनै लाग्दा मैले फेरि दबावको अनुभव गरें, अब स्नात्तकोत्तर गर्न। टपर भएको नाताले कसैले पनि म नेपाल भित्रै बस्ने अपेक्षा गर्दैनथे। मान्छेहरूले मेरो योजनाका बारेमा सोध्थे, कुन-कुन यूनिवर्सिटीमा आवेदन दिएँ भनेर सोध्थे। शुरूमा अरूले झैं म पनि अमेरिकाको यूनिवर्सिटीहरूमा भर्ना सम्बन्धी जानकारी इन्टरनेटबाट लिइरहेको थिएँ, तर आशा विपरीत, मैले देखेका प्राय: ठाउँहरूमा आवेदन शुल्क राखेको हुन्थ्यो, र शुल्क देख्ना साथ म त्यो साइट नै बन्द गर्थें। आवेदन शुल्क तिर्ने मेरो हैसियत थिएन। मलाई पूर्ण छात्रवृत्ति चाहिएको थियो, त्यो पनि त्यस्तो जसमा सबै शुल्कहरू मात्र छुट नहोस्, बल्कि जसले मेरो आउने-जाने टिकट र खाने-बस्ने खर्च पनि देओस्। अमेरिकी यूनिवर्सिटीहरूमा TOEFL र GRE को स्कोर पनि माँगेको हुन्थ्यो।

TOEFL को परीक्षा दिन मात्र करिब दश हजार लाग्थ्यो! त्यतिले त म छ महिनै आफ्नो खर्च चलाउन सक्थें। मसँग TOEFL र GRE का किताबहरू भए पनि त्यसको रजिष्ट्रेशन शुल्क तिर्न म असमर्थ थिएँ। कलेजमा टप गर्दा विद्यार्थीहरूको संस्थाबाट छुट्टै चार हजारको पुरस्कार पनि पाउँथे, जस बराबर मैले किताब नै किन्नुपर्थ्यो। त्यही पुरस्कारबाटै मैले ती किताबहरू किनेको थिएँ। त्यो पुरस्कारका कारणले स्नातक पढ्दा मन परेको किताब किन्न मलाई पहिला झैं अप्ठ्यारो भएन, सजिलै किन्थें। ओभरसियर पढ्दा ताका कति किताब त म सरस्वती बुक सेन्टर मै सरसरती पढथें, मलाई याद छ कृष्णमूर्तीको ‘द यिर्‌ज अफ अवेकेनिङ’ मलाई निकै नै मन परे पनि किन्न सकेको थिइनँ, र पटक-पटक पसल जाँदा त्यसको लगभग आधी त मैले त्यहीं पढन भ्याएको थिएँ। पछि त्यही पुरस्कारबाट मैले त्यो किताब पनि किनें।

मैले सन् २००१ मा इलेक्ट्रोनिक्स इन्जिनियरिङबाट स्नातक पूरा गरें। अन्तिम परीक्षा हुनु अगावै नै मसँग तीन-चार जागिरहरूको अफर थियो, त्यसमध्ये केही भर्खरै खुलेका इन्जिनियरिङ कलेजका थिए भने केही सफ्टवेयर कम्पनीका। एउटा निजी कलेजको प्रिन्सिपल मलाई खोज्दै छात्रावासमै गाडी लिएर आएका थिए। जागिरको अफर त्यसरी आउनु त्यतिबेला एकदमै अनौठो कुरा थियो, र त्यही भएर म कहाँ अफर आएको देखेर कलेजमा सबै चकित भएका थिए।

कलेजमा जताततै त्यसको कुरा हुन्थ्यो, मेरा सहपाठीहरू एकान्तमा बोलाएर अफरबारे मसँग सोध्थे, कतै साइन गर्नु पूर्व नै बधाई दिन्थे। बेरोजगारी निकै नै विकराल थियो, हाम्रै सिनियरहरू पनि जागिर पाउनका लागि निकै नै संघर्षरत थिए, यताउता आवेदन र अन्तर्वार्ता दिइरहन्थे। र त्यही भएर अफर आउनु मेरो लागि पनि आश्चर्य र गौरव दुइटैको विषय थियो। साइन गर्नु पूर्व मैले बुवालाई पनि सोधें।

दाइहरूको लामो बेरोजगारी झेल्नु भएका उहाँले तुरून्तै एउटा अफर स्वीकार्न भन्नुभयो, उहाँलाई ठूलै राहतको अनुभूति भयो। अन्त्यमा मैले एउटा कलेजमै कम्प्युटर इन्जिनियरिङ विभागको विभागीय प्रमुखका रूपमा साइन गरें।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.