असोज ३ मा राजपाले ‘कालो दिवस’ मनाउने

हुलाकी न्यूज, काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले असोज ३ लाई ‘कालो दिन’को रुपमा मनाउने भएको छ।

राजपाको केन्द्रीय कार्यालय बबरमहल काठमाडौंमा जारी राजनीतिक समितिको बैठकले संविधान जारी भएको दिन असोज ३ लाई कालो दिनको रुपमा मनाउने निर्णय गरेको छ।

सोमबारबाट सुरु भएको बैठकमा तीनवटा विषय प्रस्ताव गरिएको छ। पार्टीको विधान र प्रदेश सभाको विधानका विषयमा छलफल जारी रहेको छ भने असोज ३ लाई कालो दिनका रुपमा मनाउने निर्णय गरिएको छ। यसबारेको औपचारिक जानकारी मंगलबार गराइनेछ।

प्रदेश २ मा राजपाले सरकार पनि बनाएको छ भने केन्द्रमा प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई समर्थन पनि गरेको छ। तर अहिलेसम्म संविधान संशोधनको विषयमा सरकारले कुनै पहल नगरेको भन्दै राजपाले कालो दिवस मनाउन लागेको जनाएको छ।

यता सरकारले असोज ३ लाई भव्य रुपमा मनाउने तयारी गरेको छ।

यसैबीच विभिन्न समूहसँग वार्ताका लागि सरकारद्वारा गठित राजनीतिक वार्ता टोलीले राजपासँग छलफल गरेको छ। सोमबार राजपाको पार्टी कार्यालयमा टोलीले राजपाको मागहरुका विषयमा छलफल गरेको हो।

राजनीतिक मुलधारभन्दा बाहिर रहेका संगठनहरुसँग वार्ता गर्न गठन भएको टोलीले संसदकै तेस्रो ठूल दलसँग वार्ता गर्नुलाई राजपाकै नेताहरले आश्चर्यका रुपमा लिएका छन्।

टोलीले देशमा शान्ति स्थापनाका निम्त सहयोग गर्न राजपाका नेताहरुलाई आग्रह गरेका थिए। प्रतिउत्तरमा राजपाका नेताहरुले सांसद रेशम चौधरीलाई शपथ ग्रहण गराउनु पर्ने, मधेश आन्दोलनका क्रममा लागेका मुद्दाहरु फिर्ता लिनु पर्ने र जेलमा रहेका थरुहट आन्दोलनका सम्पूर्ण कैदीबन्दीलाई रिहा गर्नु पर्ने माग गरेका थिए।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.