हुलाकी न्यूज
भारत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतको दुईदिने भ्रमणका लागि आज अहमदाबाद आइपुगेका छन् । अहमदावाद विमानस्थलदेखि ‘नमस्ते ट्रम्प’ समारोह आयोजना हुने स्थान नवनिर्मित मोटेरा क्रिकेट रंगशालासम्म भएको रोड शोमा सडकको दुवै किनारमा सर्वसाधारणले स्वागत गरेका छन् ।

एअरफोर्स वान विमानबाट अहमदावाद विमानस्थल ओर्लिएका ट्रम्प तथा प्रथम महिला मेलानिया ट्रम्पको स्वागतका लागि भारतीय प्रधानमन्त्री आफैं त्यहाँ पुगेका थिए । विमानस्थलमा सयौं मानिसले परम्परागत सङ्गित एवंम् नृत्य प्रस्तुत गरेका छन् । विमानस्थल ओर्लिएलगत्तै ट्रम्प भारतीय स्वतन्त्रताका नायक महात्मा गान्धीको साबरमती आश्रम पुगेर गान्धीको ऐतिहासिक चर्खा पनि चलाएका छन् ।

ट्रम्पले विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशाला मोटेरा स्टेडियमको उद्घाटन गर्ने कार्यक्रम समेत छ । उनले रंगशाला पुगेर ‘नमस्ते ट्रम्प’ नामक समारोहमा सहभागी भई सम्बोधन गरेका छन् । कार्यक्रममा ट्रम्पको भाषण सुन्न १ लाख १० हजार जना क्षमताको रंगशाला भरिभराउ रहेको थियो ।

भारत भ्रमणमा आउनुअघि राष्ट्रपति ट्रम्पले हिन्दी भाषामा ट्वीट गर्दै भारत भ्रमणका लागि आफू तत्पर रहेको जनाएका थिए । त्यसको प्रतिक्रियास्वरुप प्रधानमन्त्री मोदीले अतिथी देवो भवः भनेर ट्वीट गरेका थिए । राष्ट्रपति ट्रम्पको यो पहिलो औपचारिक भारत भ्रमण हो । श्रीमती मेलानियासँगै भारततर्फ उड्नुअघि उनले भारत पुग्न आफू आतुर भएको प्रतिक्रिया दिएका थिए । राष्ट्रपति ट्रम्पको भारत भ्रमणबाट दुई देशबीच रक्षा र रणनीतिक सहयोग बलियो हुने विश्वास गरिएको छ । अहमदावादपछि ट्रम्प आगरास्थित ताजमहल पुग्नेछन् ।

त्यसपछि उनी भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । भारत भ्रमणको दोस्रो दिन मंगलबार राष्ट्रपति भवन परिसरमा ट्रम्प दम्पत्तिको स्वागत कार्यक्रम हुने छ । त्यहाँबाट महात्मा गान्धीको समाधिमा श्रद्धाञ्जली अर्पण गर्न ट्रम्प राजघाट जाने छन् । त्यसपछि हैदरावाद हाउसमा ट्रम्प र मोदीबीच प्रतिनिधिस्तरीय वार्ता हुनेछ । सोही दिन साँझ ट्रम्पले राष्ट्रपति भवनमा समकक्षी रामनाथ कोविन्दलाई भेट्ने कार्यक्रम छ ।

समकक्षी कोविन्दले आयोजना गरेको रात्रिभोजमा सहभागी भएर राति नै ट्रम्प स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.