काठमाडौं, २९ चैत । कोरोना भाइरसबाट अमेरिकामा एकै दिन २,००० भन्दा बढीको मृत्यु भएको छ ।

एकैदिन कोरोनाभाइरस सङ्क्रमणले २,००० जनाभन्दा बढीको मृत्यु हुने पहिलो देश बनेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार गएको २४ घण्टामा २,१०८ जनाको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या पाँच लाख नाघेको छ ।

अमेरिकाले छिट्टै कोरोनाभाइरस सङ्क्रमणका कारण सबैभन्दा बढी नागरिक गुमाउने सूचीमा इटलीलाई जित्ने देखिएको छ । तर ह्वाइट हाउसस्थित कोभिड–१९ कार्यदलका विज्ञहरूले भने अमेरिकामा सङ्क्रमण दर स्थिर हुन थालेको बताएका छन् ।

बअमेरिकामा अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमणले १८,६९३ जनाको मृत्यु भएको र ५००,३९९ जनामा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये आधाजसो मृत्यु न्यूयोर्कमा भएको छ ।

इटलीमा अहिलेसम्म १८,८४९ जनाको मृत्यु भएको र संसारभर कोरोनाभाइरसले १००,००० भन्दा बढी जीवन खोसेको छ । अध्ययनकर्ताहरूले अमेरिकामा शुक्रवार सबैभन्दा धेरैजनाको मृत्यु हुने र त्यसपछि बिस्तारै कम हुँदै जाने बताएका थिए ।

मे १ सम्मको प्रतिदिन मृत्यु हुनेको सङ्ख्या ९७० जना हुने उनीहरूको अनुमान छ । (बीबीसी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.