नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभाग गठन सम्बन्धी प्रक्रिया अगाडि बढाएपछि पार्टीभित्र फेरि विवाद देखिएको छ । सभापति इतरका नेताहरु छुट्टै भेला गरी सभापतिलाई असहयोग गर्ने निष्कर्षमा पुगेका छन् । पार्टीको विवाद र महाधिवेशनका विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंशः

० सभापति शेरबहादुर देउवाको पछिल्लो कदमलाई कसरी चूनौती दिने निधोमा पुग्नुभयो ?

— सभापतिलाई महाधिवेशनको मिति सार्वजनिक गर्न भन्दै थियौं, तर उहाँले चार वर्षको कार्यकाल कटाइ दिनुभयो । बाँकी एक वर्षको कार्यकाल पनि थप्नुभयो । पार्टीको सबै क्रियाकलापहरु महाधिवेशनमुखी भएको बेला, महाधिवेशनको प्रक्रियामा गइसकेपछि विभाग बनाउने काम भयो । यो त सामान्य कटसी मेनटेन पनि भएन ।

पार्टीको विधानले ६ महिना वा तीन महिनाभित्रै गरिसक्नु पर्ने कुराहरु कार्यकाल सकिसकेको बेलामा हुँदैछ । त्यतापट्टी नजानुस् । अहिले सम्भव छैन भन्दाभन्दै २८ वटा विभागलाई ४७–४८ पुर्याइदिनु भयो । यसरी महाधिवेशन प्रभावित गर्ने प्रयास भयो । यो अनुचित हो, यो हामीलाई मान्य छैन भनेर अस्वीकार गर्यौं ।

० सभापति देउवालाई चुनौती दिनु भयो त ?

— बुधबार नै चुनौती दियौं । उहाँहरुले प्रशिक्षणका लागि पार्टी उपसभापतिहरुलाई बोलाउनु भएको थियो । चाक्सीबारीमा उपसभापतिहरुलाई बोलाएर हामीले भन्यौं, कार्यक्रममा भाग नलिनुस् । कोअपरेशनको एउटा काम हामीले गरेकै हो । अधिवेशन बाहेकको कुरामा सरिक नहुने, नगर्ने भन्ने निष्कर्षमा पुग्यौं । महाधिवेशनसम्बन्धी गतिविधि क्रियाशील सदस्य बढाउने कुरामा हामी सहयोग गर्छौ । महाधिवेशनलाई सफल पार्ने कुरामा सहयोग गर्छौ । अरु अनावश्यक कुरामा हाम्रो सहयोग रहँदैन भनेर तटस्थता अपनाउन खोजेका छौं ।

० बुधबारको बैठकमा तपाईहरु सबै एक ढिक्कै हो त ?

— हामी भन्नाले दुई तीन थरिका साथी छौं । गणेशमान जीका छोरा हुनुहुन्छ । बीपी कोइरालाको परिवारका साथीहरु हुनुहुन्छ । केन्द्रीय सदस्यहरु हुनुहुन्छ । पार्टीका अरु पनि साथीहरु छौं ।

० त्यहाँ कृष्णप्रसाद सिटौला समूह त देखिएन नि ?

— सिटौलाजीले पनि विभाग नबनाउने कुरा मिटिङ्गमा भन्नुभएको थियो । उहाँले भनेका मान्छेहरु विभागमा परेका छन् तर कुन किसिमले परेका हुन् त्यो उहाँकै तर्फबाट हो कि देउवा जीसँग पहिले नै सम्पर्कमा भएकाले परेका हुन् ? त्यो चाँही थाहा छैन ।

० तपाईले सिटौला जीलाई बोलाउनु भएन ?

— सिटौलाजीलाई बोलाएका थियौं हामीले । सिटौला जी, गगनजीहरु हामी सम्पर्कमै छौं ।

० उहाँहरु मिटिङ्गमा किन आउनु भएन त ?

— के भयो के भयो ? झापातिर जानु भयो कि ।

मलाई नै साथ दिनुहुन्छ साथीहरुले । शेरबहादुर देउवालाई दिनु हुन्छ र ?

० उता देउवासँग कुरा मिल्न थालेको हो कि ?

— थाहा छैन मलाई । अहिले मैले भनिहाल्ने अवस्थामा छैन ।

० भनेपछि तपाईहरु आफैमा एकजुट त देखिनु भएन नि ?

— हामी एकजुटै छौं । संस्थापन इतरको हामी एकजुटै छौं । अब सिटौलाजीको हकमा उहाँले के गर्नु हुन्छ थाहा छैन । बाँकी साथीहरु एकै ठाउँमा छौं । एकता भएरै जान्छौं ।

० महाधिवेशन नजिक आइसक्यो किन विभाग गठन गर्नु पर्यो भन्नु भयो । अस्ति भर्खर बैठक नै बहिस्कार गरिराख्नु भएको थियो नि ?

— हाम्रो मागै एउटै थियो, महाधिवेशनको कार्यतालिका । अब त्यसलाई मिलाउँदै आइएको थियो । तल्लो तहको समायोजन गरौं, त्यसपछि कार्यतालिका बनाउनेभन्दा सहमति भयो । बैठकमा महाधिवेशनको कार्यतालिका राख्न सभापति तयार हुनु भएन । हामी हाम्रै कोठामा थियौं तर उहाँले बैठक सुरु गर्नु भयो । त्यहीं कुराबाट बहिस्कार भएको थियो ।

० भातृ संगठनमा तपाईहरुलाई भाग दिएपछि तपाईहरु सहमत हुनु भएको हो नि ?

— भाग उहाँले दिएर लिने कुरा पनि थिएन । नेवि संघमा त उहाँको बाध्यता थियो । किनभने विद्यार्थी नेता त जम्मै हामीसँग छन् । उहाँले बनाएको चल्दैन थियो । हाम्रै नेतालाई दिनु पर्ने थियो । अहिले पनि त्यहीं स्थिति छ । तर, मुख्य दुईवटा कुरा प्राप्ति भयो । ११ गतेको कार्यतालिका सच्याउन सहमत हुनुभयो । अर्को क्रियाशील सदस्य छानविन समिति बनाउने कुरामा सहमत हुनु भयो । त्यो दुबै कुरा महाधिवेशनका लागि महत्वपूर्ण थियो । त्यसकारण हामी अधिवेशनमुखी भएका हौं ।

० महाधिवेशन नजिक आइसक्दा उम्मेद्वार तय गर्नुपर्ने, तर तपाईहरुको कमाण्डरकै अनुहार तय भएन ?

— हामीले अहिले नै फलानो सभापति भनेर भनिहाल्ने अवस्था छैन । उपयुक्त समय होला । हामीमध्ये सभापति को ? उपभापति को ? महामन्त्री को ? जिम्मेवारी बाँडफाँड गरेर जान सक्छौं । देशभरिका साथीहरुलाई हामीले त्यसरी नै आश्वास्त पारेका छौं ।

० सभापतिको उम्मेद्वारमा पनि सम्झदारी भइसकेको छ ?

— हाम्रो समझदारी पछि हुन्छ । हामी समझदारीमा पुग्छौं भन्नेमा हाम्रो अन्डरस्टान्डिङ छ ।

० अहिले देउवासँग लड्दै हुनुहुन्छ । महाधिवेशनको मुखमा आपसमै भिड्ने होला नि त ?

— होइन । आपसमा किन भिड्नु ? अब फेरि देउवालाई बुझाउनु त्यो खतरा हुन्छ । पार्टीको भविष्य अन्धकार हुन्छ । त्यसमा सबै साथी सहमत छौं । त्यसमा पनि सहमति हुन्छ ।

० तपाई अगुवाई गर्दै हुनुहुन्छ, तपाईलाई सभापतिको उम्मेदवारमा स्वीकार गर्ने अवस्था देखिँदैन त ?

— मैले अहिलेसम्म साथीहरुसँगै सहमति लिएरै काम गरिरहेको छु । सबै ठिकै हुन्छ ।

० तपाईलाई साथ दिन्छन् ?

— मलाई नै साथ दिनुहुन्छ साथीहरुले । शेरबहादुर देउवालाई दिनु हुन्छ र ?

० अरुहरु पनि कसिराख्या छन् त ?

— राजनीतिमा लागिसकेपछि सबैको आकांक्षा हुन्छ । आखिरमा गएर हामी रियालिटीमा आउँछौं । हामी मिलेर एउटा सहमतिमा पुग्छौं ।

० भनेपछि देउवालाई टक्कर दिने तपाई नै हो ?

— को हो भन्ने अहिले भन्दिँन । हामीमध्ये कोही हुन्छ ।

० तपाई पछि हट्ने सम्भावना पनि छ ?

— म आफै बन्नका लागि लागिरहेको छैन । यो पार्टीमा न्याय स्थापित गर्न, पार्टीमा सुधार ल्याउने मेरो उद्देश्य हो । पदकै लागि सबैकुरा थाती राखेको छैन । कांग्रेस जनताको भरोसाको केन्द्र कसरी हुन सक्छ म त्यतापट्टी चिन्तित छु । जनताको भरोसाको केन्द्र कांग्रेसलाई बनाउने मेरो अभियान हो । म त्यसमा सबै साथीसँग मिलेर जे गर्दा ठीक हुन्छ त्यही गर्न तयार छु ।

० त्यसो भए गणेशमान सिंह बन्ने कि गिरिजाप्रसाद कोइराला ?

— हैन, गणेशमान, गिरिजाप्रसाद बन्ने कुरा भएन । हाम्रो त्योभन्दा भिन्न हुन्छ । (बीबीसी नेपाली सेवाबाट अनुवादित अन्तर्वार्ता)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.