काठमाडौं, ९ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले सरकारले जारी गरेको दुई अध्यादेशलाई सत्ता उन्मादमा चालिएको गैरसंवैधानिक कदम भएको आरोप लगाएका छन् ।

मंगलबार विज्ञप्ति जारी गर्दै कोइरालाले नागरिक घरभित्र रहेको मौका छोप्दै सरकारले ल्याएको ‘राजनीतिक दल’ र ‘संवैधानिक परिषद’ सम्बन्धी दुई अध्यादेश जनमतको दुरुपयोग र सर्वसत्तावादतर्फ उन्मुख भएको उनले प्रतिक्रिया दिए ।

डा. कोइरालाले राजनीतिक चरित्र भएका व्यक्तिले यस्ता निर्णय गर्नै सक्दैनन् भन्दै कतै शासक बन्ने सपना त होइन ? भन्ने प्रश्न गरेका छन् । उनले संवैधानिक परिषद्को गणपुरक संख्या घटाउने प्रावधान अध्यादेशमा निहित राख्नु संसदीय लोकतन्त्रको मूल्य र मान्यतालाई क्षतविक्षत बनाउनु हो पनि भनेका छन् ।

डा. कोइरालाले विज्ञप्तिमा भनेका छन्, ‘सरकारको प्रधान दायित्व कोभिड–१९ का कारण भोकमरीमा परेका र थातथलो जान नसकेका नेपाली जनताको संरक्षण गर्नु हो ।

यस्तो अवस्थामा सत्ताको उन्मादमा परेर राजनीतिक फाइदाको खेल प्रस्तुत गर्नुले चरित्र उदांगो भएको छ । यो नेपाली राजनीतिक इतिहासकै दुःखद घटना मध्ये एक हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.